काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा संयुक्त सरकारको नेतृत्व लिन तयार नरहेको निष्कर्ष निकालेको छ।
देउवाले बाहिर अरुलाई देखाउन संयुक्त सरकारको नेतृत्व लिन तयार रहेको भन्ने गरेपनि भित्रि रुपमा अझै तयार नभएको उनीहरुको बुझाइ छ। संयुक्त सरकार बनाउन नेकपा (माओवादी केन्द्र), जसपा, एमालेको माधवकुमार नेपाल पक्ष तयारी अवस्थामा बसेपछि देउवाले पहल नलिँदा समस्या भइरहेको जसपाका एक शीर्ष नेताले बताए।
‘पहिला देउवाजीले निवासमै बोलाएर संयुक्त सरकारको नेतृत्व लिन तयार छु, तपाईंहरुले साथ दिनुपर्यो भन्नुभयो। हामीले आफ्नो तर्फबाट संयुक्त सरकार निर्माण गर्न तयारी अवस्थामा बसेका छौं’ ती नेताले भने, ‘अहिले आएर सरकारको नेतृत्व लिन पहलै गर्नुहुन्न। बाहिर अरुलाई देखाउन ओलीजीलाई गाली गरे जस्तो गर्नुहुन्छ। भित्रि रूपमा दुई जना नेताको साँठगाँठ भए जस्तो देखिन्छ।’
देउवा र ओलीको सम्बन्ध नटुटेकाले संयुक्त सरकार बनाउन समस्या भइरहेको ती नेताले बताए। ‘देउवाजी अझै अर्ली इलेक्सन चाहिरहनु भएको छ। अझै २ वर्ष सरकारको नेतृत्व गर्ने अवस्था हुँदाहुँदै कुनै चासो दिनु भएको छैन’ जसपाका ती नेताले भने, ‘देउवा र ओलीको कस्तो खालको मिलोमतो हो बुझ्नै सकिएन।’
ओली सरकारलाई बाहिरी शक्ति सघाएकाले संयुक्त सरकार बनाउन समस्या भइरहेको जसपा नेताहरु बताउँछन्। संयुक्त सरकारका विषयमा बुधबार मात्र एमाले वरिष्ठ नेता नेपाल, माओवादी अध्यक्ष दाहाल र यादवबीच हात्तीवनमा भेटघाट गरेका थिए। नेताहरूबीच संयुक्त सरकार निर्माणमा खेल्नुपर्ने भूमिकाका विषयमा छलफल भएको बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।