काठमाडौं- नेकपा (एमाले) लुम्बिनी प्रदेश सभाकी सांसद विमलाकुमारी खत्री (ओली) सम्पर्कविहीन बनेकी छन्। उनी नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने तयारीमा सम्पर्कविहीन बनेकी हुन्।
उनले आइतबार नै माओवादी प्रवेशको औपचारिक जानकारी दिने माओवादीका एक नेताले बताए। आजै राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलको एकल बहुमत पुग्ने आकलन गरिएपनि एमालेकै सांसद सम्पर्कविहीन भएपछि लुम्बिनीको सत्ता समीकरण रोचक बनेको छ।
‘एमाले सांसद ओली हाम्रो सम्पर्कमा हुनुहुन्छ। उहाँ माओवादी प्रवेश गर्ने धेरै लामो समयदेखि तयारी थियो। आज बाहिर मात्रै आएको हो', माओवादी एक सांसदले भने।
एमालेका ४१ जना सांसदमध्ये ओली माओवादी प्रवेश गरेपछि ४० जना मात्रै हुनेछन्। ओली दाङ क्षेत्र नम्बर ३ प्रदेश ‘ख’ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्।उनका श्रीमान उत्तरकुमार ओलीको सवारी दुर्घटनामा मृत्यु भएपछि विमला उपनिर्वाचनबाट निर्वाचित भएकी थिइन्।
उनी माओवादी प्रवेश गरिन् र संसद् सचिवालयले सूचना निकाल्यो भने पोखरेलले बहुमतको दाबी गर्न सक्ने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।