न्यूयाेर्क- अमेरिकाले रुसी राष्ट्रपति भ्लादमिर पुटिनका कट्टर आलोचकसमेत रहेका विपक्षी दलका नेता एलेक्सी नभाल्नीको जेलमा मृत्यु भएमा त्यसको परिणाम गम्भीर हुने चेतावनी दिएको छ।
बेलायत, फ्रान्स, जर्मनी तथा युरोपियन संघले पनि नभाल्नीको उपचारलाई लिएर चिन्ता व्यक्त गरिरहेका छन्।
नभाल्नीका चिकित्सकहरुले यदी उनको ढाडको समस्या र सुन्निएका खुट्टाको लागि जरुरी स्वास्थ्य सुविधा नदिइने हो भने केही दिनमा मृत्यु हुनसक्ने बताइरहँदा अमेरिकाको यस्तो प्रतिक्रिया आएको बीबीसीले उल्लेख गरेको छ।
उता बेलायतमा रुसका राजदूतले नभाल्नीलाई जेलमा मर्न नदिइने बताएका छन्।
४४ वर्षीय एलेक्सी नभाल्नी रुसी राष्ट्रपति पुटिनका ठूला अलोचक हुन्। फेब्रुवरीमा गबनको एक पुरानो घरमा उनलाई जेलमा राखिएको थियो। नभाल्नीलाई मस्को भन्दा करिब १ सय किलोमिटर पूर्वमा रहेको पोक्रोव शहरको एक जेलमा राखिएको छ।
उनले आफ्नो मेडिकल टीमलाई जाँच गर्न नदिएको विरोधमा ३१ मार्चमा भोक हड्ताल शुरु गरेका थिए। नभाल्नीका डाक्टरहरुका अनुसार उनको रगत जाँचको नतिजा अनुसार उनको मिर्गौला खराब हुन सक्छ भने उनलाई जहिले पनि ‘हर्ट अट्याक’ हुन सक्छ।
रुसी जेलमा नभाल्नीको उपचारको लागि राम्रो सुविधा नदिएको विरोधमा आइतबार भएको अन्तर्राष्ट्रिय स्तरको विरोध प्रदर्शनमा कयौं देश सहभागी भएका थिए।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलिवनले सीएनएनसँगको कुराकानीमा यदी नभाल्नीको मृत्यु भयो भने यसको परिणाम रुसले व्यहोर्नु पर्ने चेतवनी दिएका थिए। यसका लागि रुसलाई ‘अन्तर्राष्ट्रिय समुदायद्वारा जिम्मेवार’ ठहर गरिने उनले बताए । राष्ट्रपति जो बाइडेनले पनि नभाल्नीको उपचार पूर्ण रुपमा गलत र अपर्याप्त’ रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।