महेन्द्रनगर– १ जना शिक्षकलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कञ्चनपुरको महेन्द्रनगरमा विद्यालय बन्द गरिएको छ।
कञ्चनपुर सदरमुकामस्थित भृकुटी माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक वीरेन्द्रप्रसाद भट्टलाई कोरोना सङ्क्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको हो।
स्वास्थ्य समस्या देखिएपछि कोरोना परीक्षण गरेका शिक्षक भट्टसँगै उहाँकी श्रीमतीलाई पनि सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमण पुष्टि भएपछि शिक्षक भट्टले आफ्नो सम्र्पकमा रहेका अन्य शिक्षक तथा विद्यार्थीसमेतलाई परीक्षणका लागि आग्रह गरेका छन्।
विद्यालयका अन्य १६ शिक्षकको एन्टिजेन परीक्षण गराउँदा सबैको नेगेटिभ आएको विद्यालयले जनाएको छ।
त्यसैगरी कञ्चनपुरमा आइतबार भीमदत्तनगरपालिका–९ ब्रह्मदेवका नौ व्यापारीमा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भारतबाट गड्डाचौकी हुँदै स्वदेश फर्किरहेका एक र ब्रह्मदेवमा नौ गरी दशमा कोरोना सङ्क्रमण देखिएको बताए।
भारतमा पूर्णागिरी मेला शुरु भएसँगै सीमावर्ती नेपाली ब्रह्मदेव बजारमा चहलपहल शुरु भएको थियो। केही दिनअघि पनि ब्रह्मदेवमा छ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।