काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक सोमबार दिउँसो १ बजे माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाइएको छ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश साहले बताए।
सोमबारको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका विषयमा समेत निर्णय गर्ने उनले बताए। बैठकमा कर्णाली विद्रोहसँगै अरु प्रदेशमा निम्तिएको समस्या संघीय सरकारको समीकरणलगायत समसामयिक राजनीति विषयमा छलफल हुने साहको भनाइ छ। ।
केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापनका लागि कांग्रेस, जनता समाजवादी पार्टीलगायतसँग सघन छलफलमा रहेको माओवादीले प्रदेश सरकारमा समेत कांग्रेससँग सहकार्य थालेको छ।
सोहीअनुरुपमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा कांग्रेसले विश्वासको मत दिएको छ। माधवकुमार नेपाल पक्षका चार सांसदले फ्लोर क्रस गरेपछि माओवादी केन्द्रका नेता शाहीको मुख्यमन्त्री पद जोगिएको छ।
गण्डकीमा कांग्रेसलाई मुख्यमन्त्रीमा साथ दिनेगरी माओवादी अविश्वास प्रस्तावमा सहभागी भइसकेको छ। अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता समेत भइसकेको छ।
यस्तै, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध मोर्चाबन्दी गर्न माओवादी र कांग्रेस एकैठाउँ उभिएका छन्। उनीहरू अविश्वासको प्रस्ताव दर्ताको तयारी छन्। गुरुङ र पोखरेल दुवै प्रधानमन्त्री ओली पक्षका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।