काठमाडाैं- इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ।
आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो। जितको लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
दिल्लीका मार्कुस स्टोनिस १३ बलमा ३ चाैका र एक छक्कासहित २७ रनमा अविजित रहे। यता, ललित यादव १२ रनमा अविजित रहे। उनले ६ बलमा २ चाैका प्रहार गरे।
शिखर धवनले सर्वाधिक ९२ रनको अर्धशतकीय इनिङ्स खेले। ४९ बलमा १३ चौका र २ छक्का प्रहार गरे। यस्तै, पृथ्वी शले १७ बलमा ३ चौका र २ छक्कासहित ३२ रन जोड। कप्तान ऋषभ पन्त सस्तैमा समेटिए।
उनी १६ बलमा एक छक्का प्रहार गर्दै १५ रनमा आउट भए। पन्जाबका झेय रिचार्डसन्ले २ विकेट लिए। उनले ४ ओभरमा ४१ रन खर्चिए। अर्शदीप सिंह र राइली मेरेडिथले १/१ विकेट लिए।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो। पन्जाबका ओपनरद्वय मायांक अग्रवाल र लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले।
अग्रवालले ३६ बलमा ७ चौका र ४ छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए।कप्तान राहुलले ५१ बलमा ७ चौका र २ छक्कासहित ६१ रनको अर्धशतकीय इनिङ खेले। उनीहरुबीच १ सय २२ रनको शतकीय साझेदारी भएकाे थियाे। दिपक हुड्डाले अविजित २२ रन जोडे। उनले १३ बलमा २ छक्का प्रहार गरे।
शाहरुख खानले ५ बलमा २ चौका र १ छक्कासहित अविजित रहदै १५ रन जोडे। क्रिस गेल ११ रनमा आउट भए। दिल्लीका क्रिस वोक्स, कागिसो रबाडा, आवेस खान र लुकमान मेरिवालले १/१ विकेट लिए जितसँगै दिल्लीले ३ खेलमा ४ अंक जोडेको छ। दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ। पन्जाब ३ खेलमा २ अंक जोडेको छ। पन्जाब लिगको सातौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।