काठमाडाैं- प्रिमियर लिगका ६ सहित युरोपका शीर्ष १२ क्लबले आफ्नै नेतृत्वमा युरोपेली सुपर लिग (ईएसएल) प्रतियोगिताको घोषणा गरेका छन्। आइतबार संस्थापक १२ क्लबले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ईएसएलकाे घोषणा गरेका हुन्।
संस्थापक १२ क्लबमा प्रिमियर लिगका ६, इटालियन लिगको ३ र स्पेनिस लिगको ३ क्लब रहेका छन्। प्रिमियर लिगबाट चेल्सी, लिभरपुल, आर्सनल, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र टोटेनहम रहेका छन्।
इटालीबाट युभेन्टस, एसी मिलान र इन्टर मिलानले प्रतिनिधित्व गर्नेछन्। यता, स्पेनबाट बार्सिलोना, रियल मड्रिड, एटलेटिको मड्रिडलाई समेटिएकाे छ।
ईएसएलबाट विज्ञप्तिमा यसका अलबा थप तीन क्लबले समेटिने उल्लेख छ। संस्थापक क्लबहरू 'नयाँ मध्यसप्ताह प्रतिस्पर्धा' आयोजना गर्न सहमत भएको ईएसएलको भनाइ छ। उनीहरुले सम्बन्धित राष्ट्रिय लिग प्रतिस्पर्धालाई निरन्तरता दिनेछन्।
त्यस्तै प्रतियोगिताको पहिलो सिजन सम्भव भएसम्म चाँडो सुरु गरिने जनाइएकाे छ। ईएसएलको योजनामा पुरुष खेल सुरु भएपछि जतिसक्दो छिटो महिला प्रतिस्पर्धा पनि गराउने भनिएको छ। यद्यपि, मिति भने सार्वजनिक गरिएकाे छैन।
यसरी खेलाइनेछ लिग
आयाेजकका अनुसार हालका १२ संस्थापक टोली र बाँकी ३ टोली गरेर १५ टोलीले खेल्नेछन्। हरेक सिजनको प्रतियोगितामा २० टोली सहभागी हुनेछन्। त्यस्तै बाँकी ५ टोली भने लिगको प्रदर्शनका आधारमा छनोट हुनेछन्।
सहभागीलाई १०-१० टोलीको दुई समूहमा विभाजन गरिनेछ। लिग चरणको समापनपछि शीर्ष ३ टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन्।
यस्तै चौथो र पाँचौ टोलीले 'प्लेअफ' खेल्दै अन्तिम ८ मा स्थान पक्का गर्ने गर्नेछन्।
अन्तिम ८ मा दुई लेगको क्वाटरफाइनल र सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ। फाइनल मे महिनामा 'न्युट्रल भेन्यू'मा हुनेछ।
फिफा र यूईएफएकाे चेतावनी
फुटबलको विश्व प्रशासकीय निकाय फिफाले यसअघि त्यस्ता प्रतिस्पर्धालाई मान्यता नदिने बताएको थियो। उसले त्यसमा संलग्न हुने खेलाडीलाई विश्व कपमा खेल्नबाट रोक लगाउन सक्नेसमेत चेतावनी दिएकाे थियो।
सुपर लिगको घोषणापछि फिफाले प्रस्तावित प्रतिस्पर्धालाई मान्यता नदिने घोषणा गरेको छ। उसले खेलको राम्रोका निम्ति तातो बहसमा संलग्न सबैलाई शान्त हुन र सन्तुलित एवम् रचनात्मक संवादमा सहभागी हुन आग्रह गरेको छ।
यता, युनियन अफ युरोपियन फुटबल एशोसियसन (युईएफए)ले पनि क्लबहरुलाई कुनै किसिमको समानान्तर प्रतियोगितामा सहभागी भए प्रतिबन्ध लगाउने चेतावनी दिएकाे छ।
यता,त्यसमा संलग्न खेलाडीहरूलाई घरेलु, युरोपेली वा विश्वस्तरका खेलमा सहभागी हुन प्रतिबन्ध लगाउने र उनीहरूलाई आफ्नो देशको राष्ट्रिय टिममा पनि संलग्न हुन बञ्चित गर्ने युईएफएले चेतावनी दिएकाे छ।
तर, ईएसएलले भने आफ्नो विज्ञप्तिमा संस्थापक क्लबहरुले फिफा र यूईएफएसँग आवश्यक समन्वय गर्ने र फुटबलकै बिकाशका लागि लिग गठन गरिएको दाबी गरेकाे छ।
बेलायती प्रधानमन्त्रीकाे आपत्ति
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले युरोपियन सुपर लिगबारेको समाचार आएपछि उक्त कदमको भर्त्सना गरेका छन्। यो कदम फुटबलका लागि गलत रहेको भन्दै बेलायतको खेलकुद सम्बन्धित निकायले यसमा उचित कदम चाल्ने उनले अपेक्षा गरेका छन्।
फ्रान्सका प्रधानमन्त्ररी इम्यानुएल म्याक्रोंले फ्रान्सेली क्लबहरुले लिगमा सहभागिता नजनाउने बताएका छन्।
उनले यस किसिमको प्रतियोगिताले खेलको मर्म मार्ने प्रतिक्रिया दिए। फ्रान्स र जर्मनीका कुनै क्लब हालसम्म यसमा जोडिएका छैनन्। जर्मनीमा हरेक क्लबमा समर्थकहरुको कम्तिमा ५१ प्रतिशत सेयर रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।