काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूले निजी क्षेत्रका प्रतिनिधि संस्थाहरूबीच कार्यगत एकता अपरिहार्य रहेको बताएका छन्। निजी क्षेत्र एक ढिक्का भएर जान सकेमात्र उद्योग व्यवसाय क्षेत्र बलियो हुने उनीहरूको भनाइ छ।
महासंघले चेम्बरको हालै सम्पन्न ७०औं वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्षसहित पदाधिकारीहरूको स्वागतमा आइतबार महासंघ सचिवालयमा आयोजित कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरूले यस्तो धारणा राखेका हुन्।
निजी क्षेत्रले उठाएका मुद्दाहरू कार्यान्वयन हुने र आर्थिक विकासमासमेत बलियो उपस्थिति जनाउन सकिने हुँदा संस्थागत सहकार्य र कार्यगत एकताको विषयलाई जोडतोडका साथ अगाडि बढाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए।
संस्थागत सहकार्य र कार्यगत एकताकै कारण पछिल्लोपटक कोभिडपश्चात् अर्थतन्त्रको पुनरूत्थानलगायत उद्योग व्यवसाय क्षेत्रलाई राहतका प्याकेज ल्याइनुपर्ने विषय, राजनीतिक दलबाट आह्वान भएको बन्दलगायतका विरोधका कार्यक्रम, कृषिमा विदेशी लगानी खुला गर्नेलगायतका विषयमा प्रतिनिधि संस्थाहरूको संयुक्त धारणाबाट निकै बलियो सन्देश गएको सो अवसरमा स्मरण गरिएको थियो।
‘एकता नै बल हो भन्ने कुरालाई हामी तीनै वटा संस्थाले मनन् गरेर अगाडि बढ्नुपर्छ,’ महासंघका अध्यक्ष शेखर गोल्छाले चेम्बरका पदाधिकारीहरूलाई स्वागत गर्दै भने, ‘हामी प्रतिस्पर्धी होइनौं, एक अर्काका परिपूरक हौं। आउने समयमा पनि एक भएर हाम्रा मुद्दाहरूमा कार्यगत एकता गरौं, सहकार्यलाई घनिभूत ढंगले अगाडि बढाऔं।’ उनले निजी क्षेत्रले बोल्ने भाषा एकै हुनुपर्ने भन्दै एकता देखाउन सके अझ बलियो हुने बताए।
अध्यक्ष गोल्छाले महासंघले सार्वजनिक गरेको ‘राष्ट्रिय आर्थिक रूपान्तरण २०३०’ सम्पूर्ण निजी क्षेत्रको दस्तावेजको रूपमा रहेकाले यसको सफल कार्यान्वयनबाट सिंगो निजी क्षेत्रको सम्मान बढ्ने स्पष्ट पारे। महासंघले अगाडि सारेको भिजन पेपरको स्वामित्व लिई सफल कार्यान्वयनमासमेत संस्थागत सहकार्य गर्न चेम्बरका पदाधिकारीलाई उनले आग्रह गरे।
चेम्बरका नवनिर्वाचित अध्यक्ष राजेन्द्र मल्लले महासंघले चेम्बरका निर्वाचित पदाधिकारीहरूलाई स्वागत गरेकोमा खुसी व्यक्त गर्दै आफ्नो टिमले महासंघसँग संस्थागत सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए। महासंघका अध्यक्षले संस्थागत सहकार्यका लागि राखेको प्रस्तावप्रति आफ्नो पूर्ण समर्थन रहेको जनाउँदै उनले चेम्बर र महासंघबीचको ऐतिहासिक सम्बन्ध अत्यन्त प्रगाढ रहेको र उक्त सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजाने बताए।
अध्यक्ष मल्लले महासंघले अगाडि सारेको भिजन पेपरको कार्यान्वयनमा के कसरी सहकार्य गरी अगाडि बढ्न सकिन्छ त्यसमा आफ्नो पूर्णसमर्थन रहने प्रतिबद्धता जनाए। बजेट ल्याउने तर कार्यान्वयन नहुने सरकारको समस्या रहेकाले बजेटमा उल्लेख गरिएका कार्यक्रमको पूर्ण कार्यान्वयनका लागि पनि एकताबद्ध भएर पहल गर्नुपर्ने अवस्था रहेको उनले बताए।
कार्यक्रममा कोभिड-१९ को दोस्रो लहर आएको सन्दर्भमा लकडाउनका कुरासमेत आउन थालेकाले लकडाउन नै अहिलेको समस्याको समाधान नभएको र मुलुकको अर्थतन्त्रले अब अर्को लकडाउन थेग्न नसक्ने हुँदा अर्थतन्त्र र स्वास्थ्य सचेतनालाई एकैसाथ लैजानेतर्फ पहल हुनुपर्ने र महासंघ, चेम्बर र परिसंघबीच संस्थागत सहकार्य र कार्यगत एकतालाई अगाडि बढाउन दुई/दुई जनाको एक समिति गठन गरी सोही समितिमार्फत् कार्य गर्न उपयुक्त हुने सुझाव राखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।