काठमाडाैं- कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ। तर, कांग्रेसले लिने मन्त्रालयको टुंगो भने लाग्न सकेको छैन।
कांग्रेस सरकारमा जाने भए पनि जिम्मेवारी प्राप्त गर्ने मन्त्रालयका सन्दर्भमा कुरा हुन नसकेको कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए। ‘अहिलेसम्म मुख्यमन्त्रीसँग छलफल हुन सकेको छैन,' शाहीले नेपाल लाइभसँग भने,‘मुख्यमन्त्रीसँग कुरा गरेपछि मात्रै मन्त्रालयको टुंगो लाग्छ।’
कांग्रेसले शक्तिशाली दुई मन्त्रालय लिएर सरकारमा जाने संकेत देखाएको छ। कांग्रेस प्रमुख सचेतक हिमबहादुर शाहीले कांग्रेसले दुई मन्त्रालयको दाबी गर्ने बताए। अनौपचारिक कुरा भए पनि मन्त्रालय टुंगिने गरी संवाद नभएको उनले जानकारी दिए। पार्टी केन्द्रको निर्देशन पनि कुरेको उनले बताए। उनले भने,‘प्रधानमन्त्रीको असंवैधानिक कार्यका विरुद्ध हामीले मत दिएका हौं। गण्डकीमा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेकाले पनि हामीले महेन्द्रबहादुर शाहीको पक्षमा मत दिएका हौं।
कांग्रेसका छ सांसदले शाहीलाई विश्वासको मत दिएका थिए। एमालेको माधवकुमार नेपाल पक्षीय सांसदले 'फ्लोर क्रस' गरेपछि शाहीको पद जोगिएको थियो। फ्लोर क्रस गर्ने नेपाल पक्षीय सांसदले आइतबारदेखि तीन मन्त्रालय सम्हालेका छन्।
शुक्रबार प्रदेशसभामा भएको मतदानमा एमालेका चार सांसदले शाहीलाई विश्वासको मत दिन पार्टीको ह्विप उल्लंघन गरेका थिए। शुक्रबार 'फ्लोर क्रस' गर्नेमा एमालेका प्रकाश ज्वाला, अमर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही थिए।
'फ्लोर क्रस' गर्नेमा थापा भौतिक पूर्वाधार मन्त्री, बुढा कृषिमन्त्री र शाही उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बन्ने भएका हुन्। नेपाल पक्षका कर्णालीका प्रभावशाली नेता ज्वाला भने मन्त्रिमण्डलमा सहभागी भएनन्।
प्रदेशका सात मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना,आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार तथा विकास, उद्योग, पर्यटन, वन तथा वातावरण सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।