काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ’बादल’को राष्ट्रिय सभा सांसद पद गुमेको छ। नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरेको पत्र संघीय संसद सचिवालयमा पठाएसँगै उनको सांसद पद गुमेको हो।
बागमती प्रदेशबाट राष्ट्रिय सभा पुगेका थापाको सांसदसँगै मन्त्री पद पनि गुमेको छ। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रअनुसार सांसद पद रिक्त भएको निर्णय गरेका हुन्।
तिमिल्सिनाको निर्णयपछि संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ।
थापाको पद गुमेपछि अब उनले पुनः मन्त्री बन्न संविधानअनुसार शपथ लिनुपर्छ। सांसद पद गुमे पनि पुनः शपथ लिएर उनी ६ महिनाका लागि मन्त्री बन्न सक्नेछन्।
२०७४ मा राष्ट्रिय सभा सदस्य बनेका थापाको कार्यकाल ६ वर्ष थियो। चिठ्ठा तान्दा उनको कार्यकाल ६ वर्ष परेको थियो। ओलीतिर लागेको भनेर पार्टीले कारबाही गरेपछि उनको राष्ट्रिय सभा सदस्य तीन वर्षमै सकिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।