काठमाडौं- सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको नयाँ प्रजाति तीन गुणाभन्दा बढी गतिमा फैलिनसक्ने क्षमता भएकोले लापारवाही नगर्न सुझाव दिएका छन्। 'यूके भेरियन्ट' प्रजातिको कोरोना यसअघिको भाइरसभन्दा तेब्बर गतिमा फैलिनसक्ने डा. पुनको भनाइ छ। उनले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरे।
संवाद डबलीले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै डा. पुनले भने, 'यूके भेरियन्ट प्रजातिको कोरोना भाइरस पहिलेभन्दा तीव्र गतिमा फैलिनसक्ने क्षमता राख्छ। यसअघिका कमजोरीबाट शिक्षा लिँदै विशेष सतर्कता नपनाए नियन्त्रणबाहिर जान सक्छ।' उनले नयाँ प्रजातिले बेलायतमा पहिलोको भाइरस एक वर्षमा फैलिए जति तीन महिनामै पुगेको बताए।
आफूहरुले केही समय पहिले काठमाडौं कोरोनाको नयाँ 'हट स्पट' बन्ने भन्दा विरोध भएको सम्झँदै डा. पुनले यस्तै अवस्था रहे अवस्था गम्भीर हुने बताए। भारत र तराईबाट काठमाडौं पसेका व्यक्तिहरु खुलमखुलारुपमा हिँडडुल गरिरहनु खतराको घण्टी भएको बताउँदै डा. पुनले भीडभाडमा नजान आग्रह गरे। स्वास्थ्य मापदण्डको पालना नगरी काठमाडौं भित्रिनु नै नयाँ भाइरस प्रवेश गर्ने माध्यम बनेको पुनले बताए।
कोरोना संक्रमितको उपचार खटिरहेका डा. पुनले कोरोनाको नयाँ प्रजातिले बालबालिका बढी जोखिममा रहेको बताए। उनले शैक्षिक संस्था नयाँ प्रजातिको कोरोना फैलिने माध्यम बन्न खतरा रहेको बताउँदै यसअघिका कमजोरीबाट शिक्षा लिँदै बालबालिकालाई नयाँ प्रजातिबाट जोगाउनु चुनौती रहेको बताए।
'नयाँ प्रजातिको कोरोना तीव्ररुपमा फैलिरहेको छ। अहिले देशभर भौतिकरुपमा शैक्षिक संस्था सञ्चालन भइरहेका छन्। स्वास्थ्य मापदण्ड पालना बालबालिकामा निकै कम देखिन्छ। विद्यालय कोरोना फैलिन माध्यम बन्ने खतरा देखिन्छ,' डा. पुनले भने। उनले बालरोग विज्ञ र अस्पताल पनि कम भएको बताउँदै विद्यालयबाट कोरोना परिवार हुँदै समुदायमा पुग्ने खतरा रहेको बताए। बालबालिकालाई बचाउनेबारे सोच्ने बेला आइसकेको भन्दै पुनले अभिभावकलाई गम्भीर बन्न आग्रह गरे। डा. पुनले विद्यालय केही दिनका लागि बन्द गर्न सुझावसमेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।