काठमाडाैं- निजी हवाई सेवा प्रदायक बुद्ध एयरले देशभित्रका एक सहरबाट अर्को सहरमा उडान सुरु गर्ने भएको छ। कम्पनीले उडानको विषयमा आइतबार पत्रकार सम्मेलन गरी घोषणा गर्ने तयारी गरेको छ।
हाल अधिकांश उडान काठमाडौंबाट देशका विभिन्न गन्तव्यमा उडान गर्दै आएको बुद्धले अबदेखि काठमाडौं बाहिरका एक सहरबाट अर्को सहरमा पनि उडान गर्ने योजना बनाएको हो।
पोखरा-विराटनगर, पोखरा-सिमरा, पोखरा-नेपालगञ्ज र भरतपुर-भैरहवा उडान गर्ने बुद्ध एयरले योजना बनाएको छ। अहिलेसम्म काठमाडौंबाट हुने उडानमा मात्र धेरै ट्राफिक देखिएकाले आन्तरिक उडान गर्ने एयरलाइन्सले नयाँ उडान यही रुटमा थपिरहेका छन्।
बुद्ध एयरसँग हाल नाै वटा एटीआर-७२, तीनवटा एटीआर-४२ र दुई वटा विचक्राफ्ट गरी १४ जहाज छन्।
बुद्धले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ। साथै, काठमाडौं र पोखराबाट माउन्टेन फ्लाइट गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।