काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा केही शीर्ष नेता नजाने भएका छन्।
बालुवाटारमा शनिबार बिहान ११ बजेका लागि बोलाईको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजाने उनको सचिवालयले जानकारी दिएको छ।
त्यसैगरी एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पनि बालुवाटारमा हुने बैठकमा सहभागी नहुने भएका छन्। नेपालको सचिवालयले बैठकबारे जानकारी नै नभएको प्रतिक्रिया दिएको छ।
यसअघि नेता नेपालले बालुवाटारमा बस्ने कुनै पनि बैठकमा सहभागी नहुने बताइसकेका छन्। जनता समाजवादीका नेता उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पनि बैठकमा सहभागी नहुने बताएका छन्।
भट्टराईले शनिबार बिहान एक कार्यक्रममा र्बैठकबारे कुनै जानकारी नै नभएको प्रतिक्रिया दिएका थिए। सर्वदलीय बैठकमा कोभिड–१९ को संक्रमण र प्रतिनिधि सभाको चालु अधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ।
शनिवार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्रीलाई बोलाइएको प्रधानमन्त्री कार्यालयले बताएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले आफैले शुक्रवार फोन गरेका थिए।
यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने बालुवाटार जानुअघि पार्टीका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।