काठमाडौं- नेपाल ट्रष्टले आफ्नो सम्पत्तिबाट आयआर्जन गरेको सम्पत्ति लगानी गर्ने गरी तयार पारेको 'नेपाल ट्रष्ट कोष लगानी कार्यविधि, २०७७’ र 'सामुदायिक/संस्थागत विद्यालयमा शैक्षिक सहयोग (छात्रवृत्ति, जनशक्ति विकास र अन्य शैक्षिक पूर्वाधार)सम्बन्धी कार्यविधि २०७७' को मस्यौदा सरोकारवाला निकायमै रोकिएको छ।
कार्यालयले सञ्चालक बोर्डबाट सामुदायिक/संस्थागत विद्यालयमा शैक्षिक सहयोग (छात्रवृत्ति, जनशक्ति विकास र अन्य शैक्षिक पूर्वाधार)सम्बन्धी कार्यविधि २०७७ को लागि शिक्षा मन्त्रालयसँग राय लिने निर्णय गरेको थियो। बोर्डको निर्णयपछि कार्यालयले माघ १८ गते नै सामुदायिक/संस्थागत विद्यालयमा शैक्षिक सहयोग (छात्रवृत्ति, जनशक्ति विकास र अन्य शैक्षिक पूर्वाधार)सम्बन्धी कार्यविधि २०७७ मा राय माग्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पठाएको थियो। तर, मन्त्रालयले दुई महिनाभन्दा बढी हुँदासम्म कुनै राय नदिएको नेपाल ट्रष्टबाट बिहीबारमात्रै सरुवा भएका सहसचिव भिष्मकुमार भुसालले जानकारी दिए।
यस विषयमा शिक्षा मन्त्रालयले भने कार्यालयबाट राय माग गरिएको विषय सत्य भएको र केही प्राविधिक कारण ढिलाइ भएको जवाफ दिएको छ। के-कस्तो प्राविधिक कारण हो भन्ने विषयमा भने शिक्षा मन्त्रालय मौन रहेको छ।
यसैगरी कार्यालयले आफ्नो सम्पत्तिबाट आयआर्जन गरेको सम्पत्ति लगानी गर्ने गरी 'नेपाल ट्रष्ट कोष लगानी कार्यविधि, २०७७’ को मस्यौदा रायका लागि अर्थ मन्त्रालय पठाएको थियो। अर्थले पनि अहिलेसम्म कुनै राय दिएको छैन। 'नेपाल ट्रष्ट कोष लगानी कार्यविधि, २०७७’ को मस्यौदा अर्थमन्त्री विष्णु पौडेलको टेबुलमा पुगेर रोकिएको अर्थ मन्त्रालयका एक सहसचिवले जानकारी दिए। कार्यालयले उक्त कार्यविधिको मस्यौदा पनि रायका लागि गत माघमै अर्थ मन्त्रालयमा पठाएको थियो।
कार्यालयले चालु आर्थिक वर्षभित्रै सरोकारवाला निकायसँगको रायमा बोर्डबाट कार्यविधि स्वीकृत गर्दै आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा लैजाने तयारी गरेको थियो। कार्यालयले स्थापना भएको १३ वर्षपछि सामुदायिक/संस्थागत विद्यालयमा शैक्षिक सहयोग (छात्रवृत्ति, जनशक्ति विकास र अन्य शैक्षिक पूर्वाधार)सम्बन्धी कार्यविधिको प्रस्तावित मस्यौदा तयार पारेको थियो।
कार्यविधिमा दुर्गम, पिछडिएका क्षेत्र, दलित, अति विपन्न, सीमान्तकृत तथा उपेक्षित समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच पुर्याउन छात्रवृत्ति उपलब्ध गराएर न्यायपूर्ण समाजको स्थापना गर्न योगदान गर्ने उद्देश्य लिइएको छ।
यसैगरी, कार्यालयले तयार पारेको कार्यविधिले नेपाल ट्रष्टको स्वामित्व भएका जग्गामा सञ्चालनमा रहेका सामुदायिक वा संस्थागत (सार्वजनिक शैक्षिक गुठी अन्तर्गतका) विद्यालयमा विज्ञान, गणित, सूचना प्रविधि र व्यवस्थापन विषयमा शिक्षण सिकाइमा प्रभावकारिता हासिल गर्न शिक्षकलाई क्षमता अभिवृद्धि कार्यक्रममा सहयोग गर्ने उद्देश्य लिएको छ।
कार्यविधिमा कार्यालयले दुर्गम, पिछडिएको क्षेत्र, दलित, अति विपन्न, सीमान्तकृत तथा उपेक्षित समुदायबाट छनोट भएका वार्षिक १२० जना बालबालिकालाई आवासीय अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने उल्लेख छ। यस्तो छात्रवृति सुविधा कक्षा ५ देखि १० सम्म अध्ययन गर्नेका लागि मात्रै हुने कार्यविधिमा उल्लेख छ।
यसैगरी, कार्यालयले नेपाल टष्ट्र ऐन २०६४ को दफा १७ बमोजिमको कोषमा जम्मा रहेको रकमलाई दक्षतापूर्ण, प्रभावकारी एंव प्रतिफलमुखी तरिकाले परिचालन गर्न कार्यविधि तयार पारेको छ। ट्रष्टले नियमावली २०६५ को नियम ४ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि जारी गर्ने तयारी गरेको जनाउँदै आएको छ।
ट्रष्टका कार्यक्रम सञ्चालन गर्न तत्काल आवश्यक नभएको रकम प्रचलित कानुन बमोजिमका 'क' वा 'ख' वर्गका बैंक वा वित्तीय संस्थामा ट्रष्टको नाममा मुद्दति निक्षेप वा दीर्घकालीन प्रकृतिका निक्षेप खाता खोली जम्मा गर्नसक्ने उल्लेख छ। यसैगरी कार्यालयले ऋणपत्रमा लगानी, मुद्दती निक्षेपमा लगानी, सेयरमा लगानी, हकप्रद सेयर र दोस्रो बजारको लगानी गर्नसक्ने गरी नेपाल ट्रष्ट कोष लगानी कार्यविधि, २०७७ को कार्यविधि तयार पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।