काठमाडौं– केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा लगाइएको कोटा प्रणाली स्थगन भएको छ। कोटाभन्दा बढी माग आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण समितिले कोटा प्रणाली स्थगन गरेकोे हो।
ती वस्तुको आयातमा एक वर्षको प्रतिबन्धपछि गत चैत ९ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिबन्धमा परिमाणमा कोटा तोक्ने आयात खुला गरेको थियो। कोटा प्रणाली लागु भएपछि विभागमा आएका आवेदनको समीक्षा गर्न तत्काल उक्त प्रणाली स्थगन गरिएको बताइएकाे छ।
सरकारले वार्षिक ८० हजार मेट्रिक टन केराउ, २५ हजार मेट्रिक टन सुपारी, पाँच हजार मेट्रिक टन छोकडा र १५ हजार मेट्रिक टन नधुल्याइएको मरिच आयात गर्न सकिने गरी कोटा राख्दै प्रतिबन्ध हटाएको थियो।
कोटो प्रणाली खुला भएपछि विभागमा सुपारी आयात गर्न २५० निवेदनबाट चार लाख ७८ हजार ८४६ मेट्रिक टन माग आएको छ। सुपारी आयातमा मागभन्दा १९ गुणा बढीले आवेदन दिएका थिए ।
यसैगरी, केराउ आयात गर्न ३०४ निवेदनबाट एक लाख ७९ हजार ३३ मेट्रिक टन, नधुल्याइएको मरिच आायत गर्न २०६ निवेदनबाट एक लाख ६६ हजार ३०३ मेट्रिक टन र छोकडा आयात गर्न १२४ निवेदनबाट ६० हजार ८०४ मेट्रिक टन माग भएको छ।
गत वर्षको चैतमा केराउ, मरिच, छोकडा, सुपारी मदिराजस्ता वस्तुको आयातमा तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले पूर्णरुपमा रोक लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।