काठमाडौं- नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा मिलेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका छन्।
सत्ता समीकरणमा बलियो मानिएका मुख्यमन्त्री पोखरेल पछिल्लो समय संकटमा परेका छन्। चार दलले बहुमत पुर्याएलगतै माओवादी केन्द्रका नेता एवम् आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी ‘सोनाम’लाई मुख्यमन्त्री बनाउने तयारी थालिएको छ।
तत्कालीन एमाले र माओवादी केन्द्रका ६० जना प्रदेश सभा सदस्यको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका थिए। पछि एमाले र माओवादी केन्द्रको एकताबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि उनले आफ्नै पार्टीको बहुमतप्राप्त सरकार चलाउने अनुकुलता प्राप्त गरेका थिए। एमाले, माओवादी अलग-अलग भएपछि पोखरेललाई मुख्यमन्त्रीको पद जोगाउन मुस्किल भएको छ। मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउन कांग्रेस, माओवादी, जसपा र जनमोर्चा तयारी अवस्थामा बसेका छन्।
लुम्बिनी प्रदेशका कुल ८५ प्रदेश सभा सदस्यमध्ये कांग्रेसका १९ जना छन्। एमालेका ४१ जनामध्ये दुईजना माधवकुमार नेपाल पक्षका छन्। माओवादीका २० प्रदेश सभा सदस्यमध्ये पूर्णबहादुर घर्ती सभामुख छन्। दिनेश पन्थी र माधव शर्मा एमालेमा गएकाले कारबाहीमा परिसकेका छन्। हाल माओवादीसँग १७ जना प्रदेश सभा सदस्य मात्रै छन्। जसपासँग कुल ६ जना प्रदेश सभा सदस्यमध्ये पाँच तत्कालीन समाजवादी र एक जना तत्कालीन राजपा पक्षबाट छन्।
राजपाबाट प्रदेश सभा सदस्य भएकी कल्पना पाण्डेलाई आफ्नो पक्षमा पार्न नेताहरू निक्कै मिहिनेत गरिरहेका छन्। ‘मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने भनेर तीन दिनदेखि कुरिरहेका छौं। जसपाकी एक सांसदले साथ नदिएकाले अघि बढ्न सकेको छैन’, माओवादीका एक प्रदेश सभा सदस्यले भने, ‘जसपाका ६ सांसदमध्ये एक तत्कालीन राजपा पक्षकी पर्नुभएछ। पार्टीको निर्देशनभन्दा बाहिर जान सकिँदैन भनिरहनु भएको छ। तर, पछिल्लो समय कन्भिन्स हुँदै जानु भएको छ। उहाँ सकारात्मक हुनेबित्तिकै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन्छ।’
लुम्बिनी प्रदेशमा सरकार बनाउन ४३ जना प्रदेश सभा सदस्य भए पुग्छ। जसपाले साथ दिने बित्तिकै मुख्यमन्त्रीको रूपमा केसीलाई अघि बढाउने चारै दलको सहमति भइसकेको अर्का एक नेताले दाबी गरे। चार दलकाबीच भएको सहमतिमा माओवादीबाट मुख्यमन्त्रीसहित २ मन्त्री, कांग्रेसबाट ३ र जसपाबाट ३ मन्त्री बनाउने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।