काठमाडौं- नेकपा (एमाले)का सांसद झपट रावलको घरमा ढुंगा हानेको आरोपमा थप एक जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ। महाशाखाले ढुंगा हानेको आरोपमा पाँचथरको फिदिम नगरपालिका–१० याङ्नाम घर भई ललितपुर इमाडोल बस्दै आएका २४ वर्षीय नसिम लिम्बूलाई पक्राउ गरेको हो ।
यसअघि महाशाखाले रामेछापको गोकुलगंगा गाउँपालिका–१ का २२ वर्षीय मनोज तामाङलाई पक्राउ गरेको थियो। सांसद रावल बस्ने गरेको काठमाडौं कारेश्वर मन्दिर नजिक रहेको ध्रुवलाल श्रेष्ठको घरमा अपरिचित व्यक्तिहरु गएराति ढुंगा हानेका थिए।
बिहीबार प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको बैठकमा रावलले आफू बस्ने घरमा भएको ढुंगा प्रहारबारे जानकारी गराएका थिए ‘राति १२ बजे ढोकामा ढुंगा हानियो। हामी उठ्यौं। घरबेटीहरूसँग कुरा गर्याैं। ५–१० मिनेटमा फेरि ढुंगा हानियो’ रावलले भनेका थिए।
उनले आफूले सुरक्षाका लागि प्रहरीको १०० र कोटेश्वर प्रहरी कार्यालयमा पनि फोन गर्दा पनि नउठेको बताएका थिए। अपराध महाशाखा प्रहरीलाई फोन गर्दा झन्डै ४५ मिनेटपछि मात्रै प्रहरी आइपुगेको बताएका थिए। पक्राउ परेका दुवैजनालाई कारबाहीका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।