रसुवा- पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा खण्डमा गएराति भएको टिपर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका–१ ग्राङ निवासी ग्राङ प्राविका शिक्षक २७ वर्षीय राजेन्द्र तामाङ र २५ वर्षीय सवारी चालक सागर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ग्राङबाट कालिकास्थानतर्फ गइरहेको बागमती प्रदेश ०६–००६ ख १६८८ नंको खाली टिपर गएराति दुर्घटना हुँदा गम्भीर घाइते भएका राजेन्द्र र सागरलाई नेपाल प्रहरीले तत्काल उद्धार गरी रसुवा अस्पताल धुञ्चे पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
टिपरमा सवार कालिका–१ का वडाध्यक्ष मालफुर्पा तामाङलाई भने खोजतलासपछि आज बिहान मात्र घटनास्थल क्षेत्रको केही तल गम्भीर घाइते अवस्थामा भेटी उपचारार्थ काठमाडौं पठाइएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए। टिपर सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीको अनुमान छ। मृतक दुवै एकाघरका दाजुभाइ भएको बताइएको छ। उनीहरूको शव परीक्षणका लागि रसुवा अस्पतालमा राखिएको बताइएको छ।
यसैबीच, भक्तपुरको मध्यपुरथिमिस्थित अरनिको राजमार्गमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। मध्यपुरथिमि–४ एसएसचोक नजिक अरनिको राजमार्गमा धुलिखेलबाट भक्तपुर हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा५३प ६९३८ नंको मोटरसाइकल आफैं अनियन्त्रित भई रेलिङमा ठोक्किएर दुर्घटनामा भएको हो।
दुर्घटनामा मोटरसाइकल पछाडि बसेका काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० का ३२ वर्षीय महेश शाह ठकुरीको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। दुर्घटनामा भाइते भएका मोटरसाइकल चालक २२ वर्षीय महेन्द्र शाह ठकुरीको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।