काठमाडाैं- म्युजिक भिडियो नखेल्ने बताएका कलाकार, लेखक तथा निर्देशक खगेन्द्र लामिछानेले अन्ततः म्युजिक भिडियोमा अभिनय गरेका छन्। उनले अल्मोडा राना उप्रेतीको ‘कहिले भेट्ने खोइ ३’ मा अभिनय गरेका हुन्।
आफूलाई धेरै अफर आएका कारण म्युजिक भिडियो खेल्न बाध्य भएको उनले बताए। उनले नेपाल लाइभसँगको कुराकानीमा हाँस्दै भने, ‘अन्य समयमा पनि म्युजिक भिडियोको अफर आउँथ्यो तर लकडाउनको समयमा त थेग्नै सकिएन।’ धेरैको प्रस्ताव आएकाले 'अब त खेल्नुपर्यो कि!' भन्ने सोचिरहेका बेला अल्मोडाले सँगै काम गर्न अफर गरेको उनको भनाइ छ।
फिल्ममा निभाइरहेको पात्रभन्दा फरक भूमिका भएकाले पनि पहिलो म्युजिक भिडियोले आफूलाई आकर्षित गरेको उनले बताए।
पहिलो म्युजिक भिडियो खेल्दाको अनुभव बाँड्दै उनले भने, 'फिल्ममा पनि गीत हुन्छ तर फिल्मको गीतमा अभिनय गर्नु र म्युजिक भिडियोमा अभिनय गर्नु निकै फरक हुनेरहेछ।'
उनका अनुसार फिल्मका गीतमा पात्रभित्र घुस्न लामो समय पाइन्छ भने म्युजिक भिडियोमा छोटो समय। खगेन्द्रले भने, 'फिल्मका गीतको तुलनामा म्युजिक भिडियोले पाँच मिनेटमा पूरै कथा भन्न सक्नुपर्ने रहेछ।'
छोटो समयमा पात्रभित्र घुस्नुपर्ने र छोटो समयमा नै पूरै कथा भन्नुपर्ने भएकाले फिल्मी गीतको तुलनामा म्युजिक भिडियो धेरै चुनौतीपूर्ण लागेको उनले बताए।
खगेन्द्रलाई वर्षा शिवाकोटीले म्युजिक भिडियोमा साथ दिएकी छिन्। अल्मोडाले हरेक वर्षजस्तो 'कहिले भेट्ने खै' को सिरिज बनाइरहेका छन्। अल्मोडाकै शब्द, संगीत र स्वरमा रहेको गीतको यो तेस्रो सिरिज हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।