काठमाडाैं- प्युठानमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। बुधबार बिहान जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको लु १ ज १६५५ नम्बरको जीप दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
दुई जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा ज्यान मृत्यु भएको हो। एक जनाको पहिचान नभएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। उनको गाडीमा च्यापिएको अवस्थामा शव फेला परेको छ।
बिहान साढे ११ बजेको समयमा प्युठानको स्वर्गद्वारी नगरपालिका-२ रुमालेमा जीप दुर्घटना भएको थियो। गुल्मीको रेशुङ्गा नगरपालिका-८ लाकुरी मञ्चबाट स्वर्गद्वारी दर्शन गर्न गएका उनीहरु सवार जीप ओभरटेक गर्ने क्रममा सडकबाट डेढ सय मिटर तल खसेको थियो। जीपमा १४ जना सवार रहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए। सामान्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचार भइरहेको र गम्भीर घाइतेलाई हेलिकप्टरमा काठमाडौं पठाइएको उनले बताए।
ज्यान गुमाउने तथा घाइतेहरु
दुर्घटनामा ज्यान गुमाउनेहरु जीपका चालक गुल्मी मुसिकोट नगरपालिका-३ का २२ वर्षीय केशव कार्की, प्रशासनका कर्मचारीहरु गुल्मीका ३५/३६ वर्षीय सूर्य पन्थी र ईश्वर भण्डारी, स्याङ्जा घर भई हाल जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रशासकीय अधिकृत पदमा कार्यरत ३८/३९ वर्षीय श्याम न्यौपाने र पहिचान नभएका एक २७/२८ वर्षीय एक पुरुष रहेका छन्।
गुल्मीको मुसिकोट नगरपालिका-६ का १२ वर्षीय सार्थक ज्ञावली र प्यूठान माण्डवी गाउँपालिका-३ का ३७ वर्षीय सन्जिव परियार गम्भीर घाइते भएका छन्।
यसैगरी गुल्मी रेशुङ्गा नगरपालिका-४ की २३ वर्षीया सुनिता कँडेल, २९ वर्षीया वसन्ती पौडेल, उनकी चार वर्षीया छोरी नीकिता पौडेल, ३० वर्षीया गीता बोहरा मुखिया, उनका १० वर्षीय छोरा अनिस मुखिया, गुल्मी चन्द्रकोट गाउँपालिका-८ की २४ वर्षीया तारा भण्डारी, छ वर्षीय आशिष भण्डारी, गुल्मीको मुसिकोट नगरपालिका-६ का ३३ वर्षीय दिलबहादुर थापा र २७ वर्षीया कमला पन्थी ज्ञवाली घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।