काठमाडाैं- प्युठानको स्वर्गद्वारीनजिकै बुधबार भएको सवारी दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना सवारी चालक पनि छन्।
दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए।
जिल्ला प्रशासन कार्यालयका गुल्मीका कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका ईश्वर भण्डारीको घटनास्थलमै मृत्यु भएको हो। प्रशासकीय अधिकृत श्याम न्यौपाने र जीप चालक केशव कार्कीको उपचारका क्रममा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको उनले बताए।
नयाँ वर्षको अवसर पारेर जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी परिवारसहित स्वर्गद्वारी दर्शनका लागि बुधबार बिहान लु १ ज १६५५ नम्बरको सार्वजनिक जीपमा गएका थिए। जीप प्युठानको स्वर्गद्वारी नगरपालिका–४ रुमाले भन्ने स्थानमा दुर्घटना भएको उनले बताए।
जीप सडकबाट झण्डै १ सय मिटर तल खसेको थियो। घटनामा १० जना घाइते छन्। घाइतेमध्ये गम्भीर ४ जनालाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।