काठमाडाैं- पर्यटकीय राजधानी पोखरामा साहसिक खेलहरूका लागि निकै प्रख्यात छ। साहसिक खेलहरु मध्येको एक बन्जी अब पोखराको सेती खोचमा पनि शुरु भएको छ।
बन्जी नेपाल एड्भेन्चर्स प्रालिले पोखरा, रातोपैरा १७ (माउन्टेन म्युजियमको आडैमा) निर्माण गरेकाे बन्जीको सफल परीक्षण गरिएको हाे।
लेक साइडबाट करिब तीन किलोमिटर दूरीमा रहेको बन्जी नयाँ वर्षसँगै व्यावसायिक सञ्चालनमा आउने बताइएको छ। अध्यक्ष सन्तोष भट्टराई, राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, भूपालबहादुर बराल क्षेत्रीकाे ८ करोड २५ लाख लगानी रहेको बताइन्छ।
अध्यक्ष भट्टराईले न्युजिल्यान्ड, जापान, मकाउलगायत देशमा बन्जी मास्टरको रूपमा लामो समय काम गरेर स्वदेश फर्केर बन्जीमा लगानी गरेका हुन्।
क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बन्जी जम्पका लागि ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको उनीहरुकाे दाबी छ। सेती नदीको खोचमा बनेको र फराकिलो हिमशृङ्खला हेर्दै जम्प गर्न पाइने भएकाले बन्जीमा आकर्षण बढ्ने उनकाे भनाइ छ।
बन्जीको २ वटा प्लेटफर्म नदीदेखि १०१ र १०५ मिटरमा छन्। दुई फरक उचाइमा जम्प गर्ने नेपालको पहिलो जम्प साइट भएको उनले बताए। साधारण बन्जी १०१ मिटर अग्लो प्लेटफर्मबाट गराइने र साइकल जम्प, बकेट जम्प लगायत विशेष जम्प १०५ मिटर अग्लो प्लेटफर्मबाट गराइने उनले जानकारी दिए।
अन्तर्राष्ट्रिय स्तरमा बन्जीको लोकप्रिय नाम ‘गो बन्जी' सँगको फ्रेन्चाइज भएकोले गो बन्जीकै प्राविधिक सहयोगमा आइ एस ओ स्ट्यान्डर्ड अनुसार तयार गरिएको भट्टराई बताउँछन्। एड्भेन्चर भएकोले सुरक्षा सावधानीमा जोड दिँदै पेट्जल र मामुट कम्पनीका हार्नेस लगायतका उपकरण प्रयोग गरिएको छ।
परीक्षणको पहिलो जम्प गो बन्जी (बन्जी जापान)का संस्थापक बीउ रिटालिकले गरेका छन्। रिटालिकसँगै बन्जीको सञ्चालनको लागि जापानबाट जनरल म्यानेजर डेबिड पनि पोखरा आइपुगेका छन्।
बन्जीकै लागि बनाइएको ३५ मिटर अग्लो टावरमा नेपालमै पहिलो र एसियाकै अग्लो टावर क्लाइम्बिङ सुरु गरिएको भट्टराईले बताए। बन्जी परिसरमै रेस्टुरेन्टसमेत निर्माण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।