काठमाडौं– नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता नेपाल प्रहरीका भुपेन्द्र थापा मगर र भुपु बक्सिङ पोखराका पवन गुरुङ एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगिताका लागि भएको खेलाडी छनोटमा फाइनल प्रवेश गरेका छन्।
नेपाल बक्सिङ संघद्वारा आयोजित छनोटको पुरुष ६४ केजी सेमिफाइनलमा भुपेन्द्रले एपीएफका सोनम सार्की तथा पवनले बक्समान्डुका दावा छिरिङ लामालाई पराजित गरे।
पुरुष ४९ केजीमा आर्मीका सुशील थापा मगरले आर्मीकै तेजबहादुर देउवा र सुर्खेतका मोहन गुरुङले एचटुओका रविन थापा, ५२ केजीमा आर्मीका प्रेम चौधरीले एपीएफका प्रदीप महर्जन र प्रहरीका चन्द्रबहादुर थापाले भूपु बक्सिङ पोखराका सुशिल क्षेत्री, ६० केजीमा आर्मीका विमल रोक्का मगरले दाङका अनिलकुमार पुन मगर र बक्समान्डुका गणेश थापाले नक्सालका मौसम राना मगर तथा ६९ केजीमा १३ औं सागका स्वर्ण विजेता ललितपुरका सनिल शाहीले बक्समान्डुका चन्द्रबहादुर तामाङ र आर्मीका रवि सुनारले एपीएफका सुमन कार्कीलाई हराउदै फाइनलमा स्थान पक्का गरे।
पुरुष ५६ केजीमा एपीएफका पुरन राईले एचटुओका बुद्ध ग्याम्जो लामालाई पन्छाउँदै फाइनलमा स्थान बनाए। सोही स्पर्धामा आर्मीका पुरन सुनुवारले भुपु बक्सिङ पोखराका जेनिश गुरुङबाट वाकओभर पाउँदै फाइनलमा पुगे।
महिला ५१–५४ केजीमा १३ औं सागकी स्वर्ण विजेता आर्मीकी मिनु गुरुङले प्रहरीकी निशा तामाङ, ५४–५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकी माया चौधरी, ५७–६० केजीमा एपीएफकी संगिता सुनारले आर्मीकी सविना श्रेष्ठ, ६०–६४ केजीमा आर्मीकी पुनम रावलले आर्मीकै संगिता दंगाल र ६९ केजीमा एपीएफकी सरस्वती राना मगरले सोही क्लबकी विनिता थापा मगरलाई पाखा लगाउँदै फाइनलमा पुगे।
महिला ४६–४८ केजीमा आर्मीकी ललिता महर्जनले प्रहरीकी दिवाना शेर्मालाई पराजित गर्दै एपीएफकी माला राईसँग फाइनल भेट पक्का गरिन्।
अर्को सेमिफाइनलमा मालाले आर्मीकी आरती बोम्जनलाई हराएकी थिइन्। एलिट बक्सिङ प्रतियोगिता भारतको नयाँ दिल्लीमा मे २१ देखि ३१ तारिखसम्म सञ्चालन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।