काठमाडौं- घरेलु टिम दक्षिण अफ्रिकाले पाकिस्तानसँगको टी-२० क्रिकेट सिरिजको दोस्रो खेलमा जित निकालेको छ। सोमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई छ विकेटले पराजित गरेको हो।
१४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले १४ ओभरमा नै चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो। दक्षिण अफ्रिकाका ऐडन मारक्रमले ५४, कप्तान हेनरिच क्लासेनले अविजित ३६ र जर्ज लिन्डेले अविजित २० रन बनाए। पाकिस्तानका लागि उस्मान क्वादिरले दुई र मोहम्मद हस्नाइन र हसन अलीले समान एक/एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा नाै विकेटको क्षतिमा १४० रन बनाएको थियो। पाकिस्तानका कप्तान बाबर अजामले ५०, मोहम्मद हफिजले ३२, हैदर अली र हसन अलीले समान १२-१२ रन बनाए। बलिङमा दक्षिण अफ्रिकाका जर्ज लिन्डे र लिजाड विलियम्सले समान तीन/तीन विकेट लिए।
दोस्रो खेलमा जित निकालेसँगै दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्ध चार खेलको टी-२० क्रिकेट सिरिजमा एक-एकको बराबरी बनाएको छ। यसअघि भएको पहिलो खेलमा पाकिस्तानले घरेलु टिम दक्षिण अफ्रिकालाई चार विकेटले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।