काठमाडाैं–इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले विजयी सुरुवात गरेको छ। मुम्बईमा सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४ रनले हराउँदै पन्जाबले विजयी सुरुवात गरेको हो।
पन्जाबले दिएको २ सय २२ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन मात्र बनायाे। राजस्थानका लागि कप्तान सन्जु सामसनले १ सय १९ रनको शतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन्।
विस्फोटक ब्याटिङ गरेका सन्जुले ६३ बलमा १२ चौका र ७ छक्का प्रहार गरेका थिए। सन्जु आईपीएल इतिहासमा डेब्यु कप्तानीमा शतक बनाउने पहिलो खेलाडी हुन्।
यस्तै जोस बट्लरले २५ रन जोड्दा शिवम डुबेले २३ रन बनाए रियान परागले २५ रन बनाए। पन्जाबका आश्रदिप सिंहले ३ विकेट लिए । मोहमद शामीले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो। पन्जाबका लागि कप्तान लोकेश राहुल र दिपक होडाले अर्धशतकीय पारी खेलेका थिए। राहुलले ९१ रन बनाए भने होडा ६४ रन बनाएका थिए ।
यस्तै क्रिस गेलले ४० रन जोड्दा मायांक अग्रवालले १४ रन बनाए । राजस्थानका चेतन शाकरियाले ३ विकेट लिए । क्रिस मोरिसले २ विकेट र रियान परागले एक एक विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।