काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सको प्यासेन्जर कार नेक्सन लोकप्रिय छ। कम्पनीले यो कम्प्याक्ट एसयुको इलेक्ट्रिक भर्सन नेक्सन इभीसमेत सार्वजनिक गरिसकेको छ।
टाटाको पहिलो इलेक्ट्रिक एसयुभीको भारतमा लोकप्रियता चुलिँदै गएको छ। भारतीय टाटा नेक्सन इभी २०२० जनवरीमा सार्वजनिक भएयता ४ हजारभन्दा बढी बिक्री भइसकेकाे छ। यस्तै २०२१ को जनवरीदेखि मार्चसम्ममा २ हजार नेक्सन इभी बिक्री गरेको कम्पनीकाे दावी छ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले अघिल्लो वर्ष नै नेक्सन इभी नेपाल ल्याउने तयारी गरेको थियो। तर, गत वर्षको बजेटबाट निजी प्रयोजनमा ल्याइने विद्युतीय सवारीमा लाग्दै आएको करको दर सरकारले वृद्धि गरेपछि रोकिएको थियो।
पछिल्लो पटक कम्पनीले नेपाली बजारमा विद्युतीय कारको माग बढेसँगै नेक्सन इभी पुन: ल्याउन लागिएकाे जनाइएकाे छ। २०२० को मार्चदेखि कोरोना भाइरसको महामारीका कारण भएकाले लकडाउन पछि सवारीको बिक्री ठप्प भएको थियो। त्यसको केही समयपछि लकडाउन खुकुलो हुन थालेपछि कम्पनीले उत्पादन निक्कै कम संख्यामा गर्दै आएको थियो।
अब भने बजार सामान्यउन्मुख भएसँगै टाटाले नेक्सन इभीको उत्पादनसमेत बढाएको छ। योसँगै सिप्रदीले पनि टाटा नेक्सन इभी नेपाल ल्याउने तयारी थालेको हो।
कम्पनीले कहिलेदेखि बिक्री सुरु हुन्छ भन्ने आधिकारिक जानकारी दिएकाे छैन। भारतमा टाटा नेक्सन इभी विभिन्न तीन भेरियन्टमा बिक्री हुँदै आएको छ।
कम्पनीले एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी भेरियन्ट उपलब्ध रहेको छ। भारतमा नेक्सन इभीको सुरुवाती मूल्य १३ लाख ९९ हजार भारु तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।