काठमाडौं– भारतमा कोरोनाको दोस्रो लहर सुरु भएको छ। दैनिक डेढ लाखको संख्यामा कोरोना संक्रमित थपिन थालेका छन्। तर, भारतीय नागरिकले नेपाललाई ट्रान्जिट हव बनाउने नेपालबाट साउदी अरब उडान गरिरहेको छन्। साउदी अरबले भारत लगायत २० देशमा सिधा उडान बन्द गरेसँगै भारतीय नागरिकले नेपाललाई ट्रान्जिट हव बनाएका हुन्
भारतबाट नेपाल आउने र १४ दिन नेपालमा बसरे भारतीय दूतावासबाट नो अब्जेसन लेटर लिएर साउदी उडिरहेका छन्। साउदीले पनि भारत लगायतका देश छोडेर अन्यत्र १४ दिनभन्दा बढी बस्नेलाई भने प्रवेश दिइरहेको छ। जसका कारण नेपालका तारे होटलदेखि गेष्टहाउसमा भारतीय पर्यटक भरिभराउ भएका छन्। होटल सञ्चालहरुले पनि कुल ग्राहकको ७० प्रतिशत सम्म भारतीय नागरिक हुने गरेको बताउन थालेका छन्।
पछिल्लो १५ दिनमै ६ हजार ७८ जना भारतीय हवाईमार्गबाट नेपाल भित्रिएका छन्। जसका कारण नर्मल ७ हजार रुपैयाँसम्म रहेको दिल्ली–काठमाडौंको हवाई भाडा अहिले बढेर ३० हजारसम्म रुपैयाँसम्म पुगेको छ। एयरलाइन्स कम्पनीलाई फाइदा भएपनि दिल्ली–काठमाडौं हवाई यात्रा गर्ने न्यून तथा मध्य वर्ग र उपचारका लागि दिल्ली जानेहरु भने त्यसको प्रत्यक्ष मारमा परेका छन्।
अप्रिल महिनामात्रै ७ हजार भारतीय नेपाल आएका थिए। तर, पछिल्लो १५ दिनमै ६ हजार ७८ जना भारतीय हवाईमार्गबाट नेपाल आएको अध्यागन विभागको भनाइ छ। उक्त अवधिमा ३ हजार २ सय भारतीय काठमाडौं विमानस्थलबाट बाहिरिएका छन्। खाडी मुलुकमा अहिले काठमाडौंबाट हिमालयबाहेक नेपाल वायुसेवा निगम, एयर अरेबिया, फ्लाई दुबई, कतार एयरवेजलगायत एयरलाइन्सले उडान गर्दै आएका छन्।
नेपाल र भारतबीच अहिले दैनिक २ वटा मात्रै उडान भइरहेका छ। एउटा उडान एयर इन्डिया र एउटा उडान नेपाल एयरलाइन्सले गरेको छ। भारत र नेपालबीच अहिले एयर बबल उडान सम्झौता अनुसार उडान भइरहेको छ। यात्रुको चाप बढेपछि उडान संख्या बढाउने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत छलफल सुरु भएको थियो।
भारतमा कोरोना संक्रमित बढेपछि उडान थप गर्ने विषय अहिले अहिले रोकिएको छ। कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै साउदी अरबले फेब्रुअरी पहिलो सातादेखि भारतलगायत २० देशबाट हुने सीधा उडान रोकेपछि भारतीयले नेपालको बाटो रोजेका हुन्। साउदीले नेपालसँग भने सीधा उडानमा रोक लगाएको छैन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।