काठमाडौं- विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप फुटबलको प्लेअफअन्तर्गतकाे दाेस्राे खेल खेल्न भारत प्रस्थान गरेको छ। आर्मीका उपरथी निरन्जन श्रेष्ठको नेतृत्वमा आर्मीकाे टाेली आइतबार भारत प्रस्थान गरेको हो।
आर्मीले वैशाख १ गते भारतको बैंगलुरु फुटबल क्लबसँग गोवास्थित जीएमसी रंगशालामा खेल्नेछ। आर्मी र बैंगलुरुबीचको विजेताले वैशाख ८ गते प्लेअफको फाइनलमा खेल्नेछ।
प्लेअफकै अर्को पोलमा माल्दिभ्सको क्लब इगल्सले बंगलादेशको अबहानी लिमिटेड ढाकासँग खेल्ने भएको छ। यी टिमबीचको विजेताले बैंगलुरु र आर्मीबीचको विजेतासँग प्लेअफको फाइनलमा खेल्नेछ। प्लेअफको विजेताले एएफसी कपको समूह ‘डी’मा स्थान बनाउने छ।
आर्मीले यसअघि दशरथ रंगशालामा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५-१ गोलअन्तरले पराजित गर्दै भारतको बैंग्लुरुसँग खेल्ने भएको हो। तर, नियमित सदस्य जर्जप्रिन्स कार्की र विकेश कुथु भने टिममा छैनन्। श्रीलंका पुलिसविरुद्धको खेलमा पनि यी दुबै खेलाडीले खेलेका थिएनन्।
लिग विजेताकै हैसियतमा भने मछिन्द्र क्लबले एएफसी कपको प्लेअफ खेल खेल्नुपर्ने हो। तर, आर्मी फुटबल क्लबले खेल्ने अवसर पायो। २०७६ सालको सहिद स्मारक ए डिभिजन लिग मछिन्द्रले जितेको थियो। १३ खेलबाट ३१ अंक बटुल्दै लिग च्याम्पियन बनेको मछिन्द्रले भने एएफसी कपको प्लेअफ खेल्न पाएन।
यसपछिको एउटै कारण हो, क्लब लाइसेन्स। एएफसीको नियमअनुसार ए डिभिजन लिगका सबै क्लबहरुले एएफसीको क्लब लाइसेन्स पाइसकेको हुनुपर्छ। त्यसको लागि एएफसीले छुट्टै नियम र मापदण्ड राखेको छ।
त्यो मापदण्ड नेपालका कुनै पनि क्लबले पूरा गर्न सकेनन्। आफ्नै मैदान, एकेडेमी, उमेर समूहका टिम, वित्त व्यवस्थादेखि क्लब लाइसेनिङमा एएफसीले धेरै मापदण्ड हुनुपर्ने शर्तहरु राखेको छ।
यही मापदण्ड पूरा नगर्दा नेपालका १३ वटा क्लबलाई केही महिनाअघि क्लब लाइसेन्स नदिने एएफसीले जनाएको थियो। तर, त्रिभुवन आर्मी क्लबले भने सुधार गर्दै फेरि एएफसी क्लब लाइसेन्सको लागि अपिल गरेको थियो।
त्यसपछि भने एएफसीले आर्मीलाई क्लब लाइसेन्सको मान्यता दियो। एएफसी क्लब लाइसेन्स पाएसँगै मछिन्द्रको सट्टा आर्मीले एएफसी कप खेलेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।