काठमाडौं- बिन्दवासिनी म्युजिक प्रालीका सञ्चालक सुवास रेग्मीले गायक प्रमोद खरेलको न्यायका लागि हस्ताक्षर गरेका ५७ जनालाई ‘कहिल्यै बिर्सन नसक्ने’ बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकको कभर फोटोमै ती ५७ जनाको हस्ताक्षरको फोटो राख्दै उनले कहिल्यै नबिर्सन नसक्ने बताएका हुन्।
‘म बाँचुन्जेल हजुरहरुलाई सम्झिरहनेछु,’ क्यापसनमा लेखेका छन्। तीन महिनाअघि महानगरीय प्रहरी परिसर, टेकुमा प्रमोदसहित केही कलाकार ५७ जनाको हस्ताक्षर बोकेर उजुरी दर्ता गर्न पुगेका थिए।
प्रहरीले त्यसको एक सातामा बिन्दवासिनी म्युजिक प्रालीकी कार्यकारी अधिकृत तथा सुवासकी श्रीमती लिना रेग्मीलाई पक्राउ गरेको थियो।
लिना पक्राउ पर्ने बित्तिकै धेरै कलाकारले आफूहरुलाई सेतो कागजमा हस्ताक्षर गराइएको भन्दै सामाजिक सञ्जालमा स्ट्याट्स लेखेका थिए। सुवासको यस्तो स्ट्याट्स र कभर फोटोमा प्रतिक्रिया दिनेहरुले भर्खरै करियर सुरु गरेकाहरुलाई बिर्सन आग्रह गरेका छन्।
कतिपयले भने अक्षर हेर्दा जबर्जस्ती लेखाएको जस्तो भएकाले तिनलाई क्षमा दिन पनि भनेका छन्। कतिले भने ब्यंग्य गर्दै कभर फोटो भएर बस्न पाउनु पनि भाग्यमानी भएको प्रतिक्रिया दिएका छन्।
गायक प्रमोदले ‘प्रणय’ एल्बममा समावेश भएको गीत ‘माया गर्नपनि कोही न कोही त चाँहिदो रहेछ’को स्वामित्व मागेपछि शुरु भएको यो बिबाद अहिले अदालतमा विचाराधीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।