काठमडौं- ललितपुर मेयर महिला च्याम्पियनसिप टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले आज (शनिबार) फाइनलमा प्रतिस्पर्धा गर्दै छन्।
त्रिवि क्रिकेट मैदानमा आज दिउँसो १:०० बजे विभागीय क्लब एपीएफ र सुदूरपश्चिमबीचको फाइनल खेल हुँदै छ। सुदूरपश्चिमलाई पराजित गर्दै एपीएफ पहिलोपटक भएको ललितपुर मेयर महिला च्याम्पियनसिप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न चाहन्छ। यता, सुदूरपश्चिम प्रदेश पनि एपीएफलाई पराजित गर्ने लक्ष्यसहित मैदानमा उत्रिने छ।
एपीएफले लिग चरणको खेलमा अपराजित रहँदै फाइनल यात्रा तय गरेको हो। अंक तालिकाको शीर्ष स्थानमा रहेको एपीएफले चार खेलबाट चारै खेलमा जित निकाल्दै आठ अंक बनायो। चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा हार बेहोर्दै छ अंक बनाएर सुदूरपश्चिमले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो। यता, लिगको तेस्रो स्थानमा रहेको प्रदेश १, ललितपुर मेयर्स-११ टिम र लुम्बिनी प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ।
लिग चरणको खेलमा एपीएफले सुदूरपश्चिमलाई ३७ रनले पराजित गरेको थियो।
प्रतियोगिताको विजेता टिमले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्। 'प्लेयर अफ दि सिरिज'ले २५ हजार, उत्कृष्ट बलरले १५ हजार र उत्कृष्ट ब्याट्सवुमनले १५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।