काठमाडौं- स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनाको खेल मैदानको प्रतिस्पर्धा मात्र होइन, प्रतिष्ठाको भिडन्त हो। फुटबलमा दुई क्लबको रोमाञ्चक भिडन्त ती क्लब कति नजिक छन् भन्ने आधारमा हुन्छन्। तर, रियल र बार्सिलोनाबीचको भिडन्तलाई छाडेर।
रियल र बार्सिलोना परका सहर भएपनि भिडन्त एउटै सहरका दुई क्लबको भन्दा ज्यादा हुन्छ। जहाँ विश्वभरका फुटबलप्रेमी जोडिन्छन् त्यहाँ दर्शकबीचको राजनीतिक र भौगोलिक दुरीसमेत पसिदिन्छ। रियलको केन्द्रीय शासन र क्याटालोनियाको स्वतन्त्रताको लडाइँ त्यहाँ छ।
अहिले ला लिगामा नौ खेल बाँकी रहँदा बार्सिलोना रियलभन्दा दुई अंकले अघि छ। यस्तोमा शनिबार राति रियलको मैदानमा हुने एल क्लासिको नतिजा उपाधिमा प्रमुख हुनसक्छ। क्याम्प नाउमा रियल मड्रिडले बार्सिलोनालाई ३-१ ले हराएकाले पनि दोस्रो भेट बार्सिलोनाका लागि अझ महत्वपूर्ण छ।
रियल होस् या बार्सिलोना दुबै टिम यो सिजन भरलाग्दा छैनन्। त्यसमा पनि खेलाडी घाइते हुने समस्याले दुबै टिमलाई पिरोलेको छ। च्याम्पियन्स लिगबाट बाहिरिसकेको बार्सिलोनाका लागि ला लिगाको उपाधिमा बलियो बन्न रियलविरुद्ध जितको नतिजा आवश्यक देखिन्छ।
अहिले ला लिगामा बार्सिलोनाको २९ खेलमा ६५ अंक रहेको छ। रियलको २९ खेलमा ६३ अंक छ। शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको २९ खेलमा नै ६६ अंक रहेको छ।
यो सबैमा विशेष ध्यान हुनेछ, लियोनल मेस्सीमाथि। जो आइतबार राति आफ्नो ४५औँ एल क्लासिको खेल्दैछन्। मेस्सीले १८ वर्षको उमेरमा एल क्लासिको डेब्यू गरेदेखि अहिलेसम्म धेरै कुरा फेरियो। सबैभन्दा बढी त उनको आफ्नै कीर्तिमान।
सन् २००७ को मार्च महिनामा क्याप नाउमा रियलविरुद्धकाे खेलमा मेस्सी पहिलो पटक धेरैको नजरमा परेका हुन्। उनको अन्तिम समयको गोलले बार्सिलोनाले आफ्नो पुरानो प्रतिस्पर्धीसँग बराबरी गरेको थियो। जहाँ मेस्सीले आफ्नो पहिलो एल क्लासिको ह्याट्रिक पनि पूरा गरेका थिए।
त्यसको १५ वर्ष र २६ एल क्लासिको गोलपछि अहिलेसम्म पनि खेलमा परिवर्तन गराउन सक्ने क्षमता उनै मेस्सीसँग नै छ। यो सिजन ला लिगामा २७ खेलमा २३ गोल गरेका उनले १० गोलमा अन्तिम पास मिलाएका छन्।
बार्सिलोनामा मेस्सीले गर्न सक्ने परिवर्तन जस्तै रियलमा अहिले करिम बेन्जेमालाई लिन सकिन्छ, उनको गोलका कारण। बेन्जेमाले ला लिगामा अहिले २५ खेलमा १८ गोल गरेका छन्, ६ गोलका लागि अन्तिम पास मिलाएका छन्। रियलमा क्रिष्टियानो रोनाल्डो युभेन्टस गएदेखि नै देखिएको गोलको समस्यामा सबैभन्दा बढी आस बेन्जेमामाथि नै छ।
बार्सिलोना र रियलसँग पहिलो पटक सन् १९०२ मा भएको कोपा डे लाको खेल यता २४५ पटक भेट भइसकेको छ। जसमा रियलले ९७ खेल जितेको छ भने बार्सिलोनाले ९६ खेल जितेको छ। ५२ खेल बराबरी भएका छन्। प्रतियोगितात्मक बाहेकका अरु खेलसमेत जोड्दा २७८ एल क्लासिकोमा बार्सिलोनाले ११५ खेल जितेको छ। रियलले १०१ खेल जितेको छ। ६२ खेल बराबरी भएका छन्।
यो सिजनमा ला लिगामा हुन लागेको दोस्रो भेट एल क्लासिको इतिहासका लागि मात्रै होइन उपाधिका हिसाबले पनि महत्वपूर्ण छ। सिजनको पहिलो १० खेलमा ४ खेल मात्र जितेको बार्सिलोनाले त्यसपछिका १९ खेलमा १६ खेल जितेको छ। पछिल्ला १६ खेलमा अपराजित रहँदा तीन खेल बराबरी खेलेको छ।
अन्तिम खेलसम्म अंक बराबरी भएमा ला लिगामा ‘हेड टु हेड’लाई जितको आधार बनाइने हुँदा पनि प्रतिस्पर्धी टिमबीचको खेल महत्वपूर्ण हुनेछ। दर्शकबिनाको एल क्लासिको यसअघिको भेटमा जस्तै खल्लो हुने भए पनि उपाधि भिडन्तमा भने रोचक हुनेछ नै।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।