काठमाडौं- विभागीय टिम त्रिभुवन आर्मी क्लबले पाँचौ आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपको पुरुषतर्फ जित निकालेको छ। सोमबार भएको खेलमा आर्मीले अर्को विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गरेको हो।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा आर्मीले एपीएफलाई २५-१५, २५-१८ र २८-२६ अंकसहित ३-० को सोझो सेटमा पराजित गरेको हो। सोमबार नै भएको अर्को खेलमा हेल्प नेपालले पुलिस क्लबलाई २५-२२, २५-१६ र २५-२० अंकसहित ३-० को सोझो सेटमा नै पराजित गरेको छ।
शीर्ष स्थानमा रहेको हेल्प नेपालले चार खेलमा शतप्रतिशत जित निकाल्दै १२ अंक बनाएको छ। यता, आर्मीले पनि एपीएफलाई पराजित गर्दै ९ अंक बनाएको छ। एपीएफको पनि ९ अंक नै छ। यस्तै चार खेलबाट नेपाल पुलिसको ६ अंक र बुलबुलेको पनि समान खेलबाट ६ अंक नै छ।
नेपाल भलिबल संघको आयोजना जारी प्रतियोगिताको महिलातर्फ एपीएफ क्लबले आर्मीलाई पराजित गरेको छ।
एपीएफले आर्मीलाई १९-२५, २५-१०, २५-१७ र २५-२२ ले पराजित गर्दै तीन अंक बटुलेको हो। त्यस्तै अर्को खेलमा भरतपुर मेट्रोले पहिलो जित निकाल्दै अंक तालिकामा ३ अंक जोड्न सफल भयो। भरतपुरले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५-२१, २५-१२ र २५-१३ ले पराजित गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।