काठमाडौं- अकि जुविन राउत र सर्भानी श्रेष्ठले तेस्रो आइएमई जेटीआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिताअन्तर्गत यु-१६ तर्फको उपाधि जितेका छन्।
मन्डिखाटारस्थित टेनिस कोर्टमा सम्पन्न यु-१६ ब्वाइजतर्फको फाइनल स्पर्धामा अकिले आरभ सम्राट हाडालाई २-१ सेटमा हराउँदै च्याम्पियन भएका हुन्। पहिलो सेट ६-१ ले आफ्नो पक्षमा पारेका अकिले दोस्रो सेट ३-६ ले गुमाएका थिए।
अन्तिम तथा निर्णायक सेटमा अकिले आरभलाई ६-४ को सेटमा स्तब्ध बनाउँदै उपाधि उचालेका हुन्। अकिले आरभलाई पराजित गर्न तीन घण्टा समय खर्चिएका थिए।
यस्तै गर्ल्स यु-१६ तर्फकै स्पर्धामा सर्भानी श्रेष्ठले रैना शाहमाथि २-० को सोझो जित निकालिन्। सर्भानीले दुवै सेट ७-५ ले पक्षमा पार्दै उपाधि उचालेकी हुन्। सर्भानीले रैनालाई हराउन साढे तीन घण्टा लागेको थियो।
दुवै च्याम्प्यिनले जनही २० हजार रुपैयाँ पुरस्कार जिते। विजयी खेलाडीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आइएमई फाउन्डेसनका अध्यक्ष एवं आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, आइएमई फाउन्डेसनकी सदस्यसचिव अञ्जली अर्याल ढकाल लगायतले पुरस्कार वितरण गरे। सोही अवसरमा विभिन्न उमेर स्पर्धाबाट च्याम्पियन भएका खेलाडीलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।
आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको प्रतियोगितामा देशभरका १०५ खेलाडीले सहभागिता जनाएका थिए। चैत १७ गतेबाट आयोजना भएको प्रतियोगितामा गर्ल्सतर्फ ४५ र ब्वाइजतर्फ ६० खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।