काठमाडौं– सशस्त्र प्रहरी बलको एपीएफ क्लब र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब पाँचौ आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ शीर्ष स्थानमा उक्लिएका छन्।
३ खेलमा ९ अंक जाेड्दै एपीएफ शीर्ष स्थानमा उक्लिएकाे हाे। त्यस्तै हेल्प नेपालले ३ खेलमा शतप्रतिशत जित निकाल्दै एपीएफसँग अंक बराबरी गरेकाे छ।
७ क्लबको सहभागिता रहेको च्याम्पियनसिपमा त्रिभुवन आर्मी र पुलिसको ३ खेलबाट समान ६–६ अंक तथा बुलबुले रारा क्लबको ४ खेलमा ६ अंक नै छ। नयाँबजार सामाजिक युवा क्लबले ३ र मणिमुकुन्द क्लब ४ खेल खेलेपनि अंक बटुल्न भने सकेका छैनन्।
प्रतियोगिताको महिलातर्फ आर्मी र पुलिसको समान ८–८ अंक रहेको छ। त्यस्तै न्यू डायमण्डको ३ खेलबाट ७ अंक रहेको छ भने एपीएफको २ खेलबाट ४ अंक भएको छ। भरतपुर मेट्रोले ३ खेल र ढोरपाटन स्पोर्टस् क्लबले ४ खेल खेलेपनि अंक जोड्न सकेका छैनन्।
आइतबार भएको महिलातर्फको खेलमा पुलिस र आर्मीले जित निकालेका छन्। पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–९, २५–५ र २५–५ तथा आर्मीले भरतपुर मेट्रो क्लबलाई २५–९, २५–८ र २५–१३ ले पराजित गरेका हुन्। त्यस्तै पुरुषतर्फको प्रतिस्पर्धामा पुलिसले मणि मुकुन्द भलिबल क्लबलाई २५–१८, २५–१९, २५–११ ले पराजित गर्यो।
तीन भारतीय खेलाडीसहितको हेल्प नेपालले तीन पाकिस्तानी खेलाडीले सज्जित बुलबुले रारालाई २१–२५, २५–१८, २६–२४ र २५–२१ को सेटमा पराजित गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।