काठमाडौं- नेपाली सेनाका गजेन्द्र राई र एपीएफ क्लबकी पुष्पा भण्डारी प्रथम किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा पहिलो भएका छन्।
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको पुरुषमा गजेन्द्रले निर्धारित दूरी १ घण्टा ६ मिनेट ५१ सेकेन्डमा पूरा गरे। शनिबार भएको प्रतियोगितामा गजेन्द्रसहित शीर्ष पाँच स्थानमा सेनाकै खेलाडी रहे।
१ घण्टा ७ मिनेट २० सेकेन्डमा खगेन्द्र भाट, १ घण्टा ९ मिनेट ३९ सेकेन्डमा रामजी बस्नेत, १ घण्टा १० मिनेट २९ सेकेन्डमा देवराज बस्नेत र १ घण्टा ११ मिनेट ४३ सेकेन्डमा जितेन्द्र अधिकारी दनुवारले क्रमशः दोस्रोदेखि पाँचौ स्थानमा दौड टुंगाए।
शीर्ष तीन स्थानमा रहनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाए। चौथो र पाँचौले समान ५–५ हजार नगद पुरस्कार पाए।
महिलामा बंगलादेशको ढाकामा भएको फुल म्याराथनमा स्वर्ण जित्दै महिलातर्फ इतिहास रचेकी पुष्पाले निर्धारित दूरी तय गर्न १ घण्टा २३ मिनेट ३७ सेकेन्ड समय खर्चिन्। सेनाकी पूर्णलक्ष्मी न्यौपाने १ घण्टा २८ मिनेट ४१ सेकेन्डमा दोस्रो, एपीएफकी आशा रावत १ घण्टा ३६ मिनेट ४९ सेकेन्डमा तेस्रो र काठमाडौंकी रोशना रिजाल १ घण्टा ५१ मिनेट २६ सेकेन्डमा चौथो भए।
महिला पुरुष दुवै विधाका शीर्ष तीन स्थानमा रहनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाए। चौंथो र पाँचौले समान ५–५ हजार नगद पुरस्कार पाए।
विजेतालाई नेपाली कांग्रेसका नेता पूर्वमन्त्री पूर्णबहादुर खड्का, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह लगायतले पुरस्कार वितरण गरे। समापनको अवसरमा ओलम्पियनत्रय एथलेटिक्सका वैकुण्ठ मानन्धर, जितबहादुर केसी र पुष्पराज ओझा तथा बक्सिङका सुरेश आले मगर सम्मानित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।