काठमाडाैं- काठमाडाैं-तराई मधेस द्रूतमार्ग 'फास्ट-ट्र्याक' अन्तर्गतको सुरूङ र पुल निर्माण कार्यका लागि भन्दै नेपाली सेनाले दुई वटा प्याकेजमा ठेक्का गरी कम्पनी छनोट गरेको थियो। कम्पनी छनोटमा नेपाली सेनाले आर्थिक हिनामिना गरेको भन्दै सार्वजनिक लेखा समितिमा उजुरी परेको थियो।
उजुरीपछि लेखा समितिले रक्षा मन्त्रालय र नेपाली सेनालाई बोलाएर छलफल गरिरहेको छ। यही क्रममा बिहीबार सिंहदबारमा भएको छलफलमा समितिले एउटा मात्रै कम्पनीलाई प्रतिस्पर्धा गराई भएको प्याकेज नम्बर २ को सबै ठेक्का प्रक्रिया खारेज गरी नयाँ प्रक्रियाबाट अगाडि बढाउन निर्देशन दिएको छ।
साथै, फास्ट-ट्र्याकको सुरुङ र पुल निर्माणका लागि भएको ठेक्कामा नाै वटा गल्ती भएको समितिको ठहर छ।
यी हुन् समितिले औंल्याएका नाै प्रश्न
१) सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद ऐन २०६४ को दफा ६५ ९१० को खण्ड (ख) ले ईपीसी खरिद विधिका लागि निर्देशिका, कार्यविधि र प्राविधिक मार्गदर्शन जारी गर्नुपर्ने, सोही दफाको खण्ड (ग) अनुसार पूर्वयोग्यतासम्बन्धी कागजातको नमूना तयार गर्नुपर्ने व्यवस्था गरेकोमा हालसम्म निर्देशिका वा कार्यविधि वा मार्गदर्शन नबनाइएको अवस्थामा अन्य खरिद प्रयोजनको लागि तयार गरिएको आईसीबीसम्बन्धी डकुमेन्ट प्रयोग गरी ईपीसी खरिद विधिका लागि कसरी पूर्वयोग्यता परीक्षण गर्न सकिन्छ? यस्तो त्रुटिपूर्ण कार्य किन गरिएको हो? यसका लागि खरिद कार्य सुरु गर्नु पहिले सार्वजनिक खरिद अनुगमन कार्यालयको परामर्श किन नलिइएको हो?
२) खरिद प्रक्रिया सुरु गरिसकेपछि पूर्वयोग्यताको नतिजा प्रकाशनपछि किन सार्वजनिक खरिद अनुगमन कार्यालयबाट परामर्श माग गरिएको हो? जबकि, सार्वजनिक खरिद ऐनको दफा ६५ (२) अनुसार खरिद प्रक्रिया सुरु गरिसकेपछि खरिद प्रक्रियामा कुनै किसिमले पनि सहभागी हुन नमिल्ने देखिन्छ?
३) एउटै परियोजनाको एकै प्रकृतिको कामलाई किन खण्डीकरण गरी दुई प्याकेज गरिएको हो? टनेल र पुलको प्याकेज छुट्टै नबनाई एकै प्याकेजमा जोडिएको देखिन्छ र दुवै प्याकेजमा उही प्रकृतिका काम छन्, किन त्यसो गरिएको हो? एउटा वा धेरै प्याकेज नगर्नुको आधार के छ?
४) प्याकेज १ र प्याकेज २ को कामको प्रकृति र आवश्यक दक्षता तथा क्षमता एकै प्रकृतिको छ र अझ प्याकेज १ भन्दा प्याकेज २ को काम परिमाणमा कम देखिन्छ तर पहिलो प्याकेजमा पूर्वयोग्यता सम्बन्धित काम गर्दा उत्तीर्ण भएको कम्पनी दोस्रोमा अनुत्तीर्ण कसरी हुन सक्छ? कम्पनीको क्षमता परीक्षण गरिने भएकोले पहिलोमा पास हुने तर दोस्रोमा फेल हुने स्थितिले उक्त कम्पनीले पेस गरेको डकुमेन्ट संकास्पद हुनसक्ने देखिन्छ। अन्यथा पूर्व योग्यतासम्बन्धीको परीक्षणका आधार नै त्रुटिपूर्ण देखिन्न र?
५) पहिलो र दोस्रो प्याकेजमा क्रमशः २१ र २२ कम्पनीको आवेदन परेकोमा एकै प्रकृतिका कामहरूमा काम गर्नका लागि क्षमता परीक्षण गर्दा मापदण्ड किन कठिन स्तरको बनाइएको हो, जसले गर्दा पहिलो प्याकेजमा दुई र अर्कोमा एक कम्पनीमात्र छनोट भए र बोलपत्रमा प्रतिस्पर्धा नै नहुने स्थिति पैदा भयो?
६) सार्वजनिक खरिद ऐनको प्रस्तावनाअनुसार बोलपत्र वा प्रस्ताव आह्वान गर्दा प्रतिस्पर्धा, पारदर्शिता र मितव्ययिता हुनेगरी खरिद प्रकिया सञ्चालन गर्नुपर्नेमा पूर्वयोग्यतामा कम्पनीहरूबाट उनीहरूको क्षमता मापनका लागि आवेदन लिइएको र त्यसलाई किन बोलपत्र प्रस्ताव ठानी मूल्यांकन नतिजा प्रकाशन गर्दा एउटामा दुई र अर्कोमा एक कम्पनी छनोट गरिएको हो? यसले बाोलपत्रमा प्रतिस्पर्धा निषेध गरेको देखिँदा नतिजा रद्द गर्नुपर्ने होइन र? प्रतिस्पर्धा हुनका लागि कमसेकम तीनवटा कम्पनी छनोट हुनुपर्नेमा नभए पुनः सूचना प्रकाशन गरी थप आवेदन माग गर्नुपर्नेमा किन नतिजा स्वीकार गरिएको हो?
७) सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३५ को उपनियम २ मा 'उपनियम (१) बमोजिमको परीक्षणमा छनोट भएका पूर्वयोग्यताको आवेदक सम्बन्धित खरिद कारबाहीका लागि बोलपत्र पेस गर्न योग्य भएको मानिनेछ भनिएको छ। उक्त प्रावधानले एकभन्दा बढीको छनोटको परिकल्पना गरेको हुँदा-हुँदै एउटा मात्र छनोट गर्न कसरी मिल्छ?
८) सार्वजनिक खरिद नियमावलीको २६ (३) को खण्ड (घ) अनुसार सार्वजनिक खरिद ऐन २०६३ को १३ (२) को खण्ड (ङ ३) र (ढ ४) बमोजिम कम्पनीले नेपालभित्र कुनै कार्य गरिरहेको भए सोको प्रगति विवरण लिएर सोको पनि मूल्यांकन गर्नुपर्नेमा त्यसो नगरी छनोट भएको एक कम्पनीले बुटवल नारायणगढ खण्डको सडक निर्माण गर्ने क्रममा दुई वर्षमा १०४ पनि प्रगति नभएको, कम्पनी र कामदारबीच पटक-पटक विवाद भई खराब रेकर्ड राखेको कुरालाई नजरअन्दाज गर्न मिल्छ?
९) आईसीबी कामका लागि सार्वजनिक खरिद ऐन र नियमावलीको मूल मर्म र भावनाविपरीत बोलपत्रमा प्रतिस्पर्धाविहीन हुनेगरी गलत नजिर बस्ने र प्रतिस्पर्धाबाट राज्यलाई हुने फाइदाबाट बन्चित हुने स्थिति पूर्वयोग्यता परीक्षणबाट देखिएकोमा किन नतिजा रद्द नगरी बोलपत्र आह्वान गरिएको हो?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।