पर्वत–पश्चिम नेपालकोे समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्न स्थानीय तहको पहलमा अध्ययन थालिएको छ। बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्यका साथ प्रारम्भिक अध्ययनपछि वातावरणीय प्रभाव मूल्यांकन गर्न थालिएको छ।
विद्युत् विकास विभागले अध्ययनका लागि ग्लोबल टेण्डरमार्फत परामर्शदाताका रूपमा अष्ट्रेलियाको जेभी स्मेक इन्टरनेशनल र जेड कन्सल्ट नेपाललाई जिम्मा दिएपछि अध्ययन थालिएको विद्युत् विकास विभागका इञ्जिनियर रवि नेपालले जानकारी दिए। उनका अनुसार अहिले वातावरणीय प्रभाव मूल्यांकनका लागि क्षेत्र निर्धारणको काम भइरहेको छ।
आठ सय ४४ मेगावट विद्युत् उत्पादन गर्ने गरी निर्माण गर्ने भनिएको प्रस्तावित कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना नेपालकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना रहेको छ।
विद्युत् विकास विभाग प्रस्तावक रहेको यस आयोजनाको अहिले प्रभावित क्षेत्र, डुबान क्षेत्र, बाँध र विद्युत्गृह निर्माण गर्ने क्षेत्र निर्धारणका लागि काम भइरहेको छ।
बागलुङ जिल्लाको बागलुङ नगरपालिका, पर्वत जिल्लाको कुस्मा नगरपालिका, जलजला गाउँपालिका, फलेवास नगरपालिका, विहादी गाउँपालिका, पैयु गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिका समेट्ने गरी उक्त आयोजना क्षेत्र निर्धारणको काम भइरहेको अध्ययनको जिम्मा पाएको जेभी स्मेक इन्टरनेशनल अष्ट्रेलिया र जेड कन्सल्ट नेपालले जनाएका छन्।
अहिले सात पालिकामा प्रभावित हुनसक्ने वडा र सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक प्राणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्राणाली र आर्थिक प्रणालीका लागि सुझाव सङ्कलनसमेत भइरहेको छ ।
आयोजना अबको सातदेखि १० वर्षमा सम्पन्न गर्ने गरी अध्ययन भइरहेको छ। नेपालकै अन्य जलाशययुक्त जलविद्युत् आयोजनाभन्दा ठूलो, सस्तो र कम क्षति पुर्याउने उक्त आयोजना देशकै नमूना हुने र पर्यटकीय हिसाबले समेत निकै ठूलो फड्को मार्नेमा विश्वास लिइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए।
अहिले अध्ययन भइरहेको उक्त आयोजना निर्माण गर्न पर्वत जिल्लाको बिहादी गाउँपालिका–६ र गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकामा बाँध बनाइनेछ भने बिहादीकै वडा नं ६ मा बाँधभन्दा झण्डै चार किलोमिटर तल विद्युतगृह निर्माण गरिने प्रारम्भिक अध्ययनमा उल्लेख गरिएको छ। बिहादीमा २५० मिटर अग्लो बाँध बनाएर कालीगण्डकी नदी थुन्दा पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ नयाँपुलसम्म पानी जम्मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।