काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले नवीन सोचमा आधारित रहेर उद्यम गर्न चाहने ५० वटा स्टार्टअपहरुलाई सुरुवाती पूँजी जुटाइदिने घोषणा गरेको छ। साेमबार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै स्टार्टअप एन्ड इनोभेसन समितिका सभापति रञ्जित आचार्यले ५० स्टार्टअपलाई लगानी जुटाउने घोषणा गरेका हुन्।
यसका लागि यही चैत्र महिनाको तेस्रो साताबाट आवेदन खुला गरिने उनले जानकारी दिए। आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवा) का लागि खुला गरिने उनको भनाइ छ।
आवेदन दिन चाहने स्टार्टअप/उद्योग व्यवसायहरू कम्तीमा एक वर्ष र सोभन्दा बढी संचालनमा आएको हुनुपर्नेछ। आवेदन दिएकाहरुबाट महासंघले सर्ट लिस्ट गरेर ५० जना उद्यमी छनाेट गर्नेछ। त्यसपछि पहिलो चरणमा २० जनालाई मेन्टरिङ कार्यक्रमसमेत सञ्चालन गर्ने उनले बताए।
महासंघका अनुसार स्वदेशी तथा विदेशी ठुला लगानी कर्ताहरुसँग राखेर उनीहरुको प्रस्तावको विषयमा छलफल गराइनेछ। छलफल तथा वार्ताबाट उनीहरुलाई आर्थिकदेखि प्राविधिक सहयोगमा दुई पक्षीय सम्झौता गराइने जनाइएकाे छ।
उद्यमशीलता सम्बन्धी परामर्श दिन लामो व्यवसायिक अनुभव हासिल गरेका सफल २० जना मेन्टरहरूको तयार गरिएको उनले बताए। एकस्टार्टअप/उद्योगव्यवसायलाई एक मेन्टरका हिसावले २० स्टार्टअप/उद्योगव्यवसायलाई मेन्टरशीप कार्यक्रम अन्तर्गत लामो व्यवसायिक अनुभव बटुलेका मेन्टरहरूमार्फत करिब ३ महिना परामर्श दिई उद्यम गर्न सक्षम बनाउने महासंघले लिएको छ।
मेन्टरशीपमा सफलता पूर्व मेन्टरिङ पूरा गरेका स्टार्टअप/उद्योग व्यवसायलाई मात्र लगानी जुटाउनका लागि लगानीकर्तामाझ आफनो व्यवसायको प्रस्तुतीका लागि मौका प्रदान गरिने आर्चायले बताए।
यसैगरी प्रत्येक महिनाको पहिलो शुक्रबार हरेक क्षेत्रका सफल उद्यमीसँग स्टार्टअपहरूलाई सहयोग पुग्ने गरी ज्ञान शृंखलाको रूपमा प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबार फस्ट फराइडे टक आयोजना गरिनेसमेत उनको भनाइ छ।
समितिले नव उद्यमीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा जोडने, महासंघले आर्थिक रुपान्तरण मार्गचित्र मार्फत अगाडी सारेको प्रतिवर्ष ४ लाख रोजगारी सृजना गर्ने लक्ष्यलाई पुरा गर्ने कार्यमा सहयोग उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।