काठमाडौं- काठमाडौं-तराई द्रुतमार्ग निर्माणका क्रममा भएको भनिएको अनियमितताका सम्बन्धमा अध्ययन गर्न प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले उपसमिति गठन गरेको छ।
समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले द्रुतमार्ग निर्माणको दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिबार अध्ययन गर्न सांसद गणेश पहाडीको संयोजकत्वमा उपसमिति गठन गरेको हो। उपसमितिमा सांसदहरू जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल सदस्य छन्।
द्रुतमार्ग निर्माणको क्रममा दोश्रो चरणको ठेक्का प्रक्रियामा ठेकेदार चयन लगायतबारे अध्ययन गर्न बनाइएको उपसमितिलाई अध्ययन प्रतिवेदन बुझाउनका लागि २ महिनाको समय दिइएको छ।
उपसमितिलाई दोश्रो चरणको ठेक्का प्रक्रियामा ठेकेदार छनोट, बुंगमति खोकना क्षेत्रमा देखिएको विवाद, निर्माणका क्रममा भएका कमीकमजोरी र समयमै निर्माण सम्पन्न हुने/नहुनेबारे पनि सुक्ष्म ढंगले अध्ययन गर्न भनिएको छ।
काठमाडौं–तराई द्रुतमार्ग निर्माणको जिम्मा लिएको नेपाली सेनाले निर्माण प्रक्रियाको दोश्रो चरणमा ठेकेदार कम्पनी छनोट गर्दा अनियमितता भएको उजुरीपछि समितिले त्यसतर्फ चासो देखाएको हो।
छलफलका क्रममा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराज शर्माले सेनाले निर्माणका सबै प्रक्रिया पारदर्शी ढंगले गरिरहेको दाबी गरे। उनले दुई वर्षपछि पनि पुरानै दर रेटमा निर्माण सम्झौता भएको र ज्वइन्टभेन्चरमा नेपाली कम्पनीहरू पनि सहभागी भएको बताए।
‘स्वदेशीहरू सबै ज्वइन्टभेन्चरमा आउनुभएको छ। त्यत्ति ठूलो काम गर्न उहाँहरूसँग पैसा नभएको हुनसक्छ। बैंक ग्यारेण्टी नभएको हुनसक्छ। तर, अहिले विदेशी कम्पनीहरूसँग नेपाली कम्पनीहरू ज्वइन्टभेन्चरमा आउनुभएको छ’, उनले भने, ‘सबै भन्दा ठूलो संख्यात्मक रुपमा उहाँहरूसँग मिसिएर आउनुभएको छ। हामीसँग यसको प्रमाण पनि छ।’
उनले नेपाली सेनालाई प्रभाव पार्न खोज्ने समूहरू धेरै भएको र नसकेपछि उनीहरूले अरु ठाउँमा प्रयास गरेको आरोप लगाए।
छलफलका क्रममा सांसदहरूले समयभित्र विकास निर्माणका आयोजना सम्पन्न हुन नसकेका विषयमा गम्भीर विश्लेषण गर्नुपर्ने धारणा राखेका थिए। उनीहरूले द्रुततमार्गको विषयमा बुंगमती खोकनाको विषय मिलाउनुपर्नेमा पनि जोड दिए।
त्यसैगरी, समयमै निर्माण सम्पन्न नहुनुको एउटा कारण निर्माण सामाग्रीको रुपमा प्रयोग हुने गिट्टी बालुवामाथि लगाइएको प्रतिबन्ध पनि भएकाले त्यसलाई हटाएर काम गर्ने वातावरण मिलाउनुपर्ने सांसदहरूको धारणा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।