काठमाडाैं- प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं-तराई द्रूतमार्ग (फास्टट्रायक)को कार्यप्रगति र अनियमितताका विषयमा अध्ययन गर्न उपसमिति गठन गरेको छ।
सोमबार सिंहदरबारमा बसेको बैठकले सांसद गणेश पहाडीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिमा सांसदहरु जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल सदस्य रहेका छन्।
समितिले काठमाडौ-तराई द्रूतमार्गमा देखिएको समस्या, त्यसले पार्ने प्रभाव र निर्माण सम्पन हुने भनी तोकिएको अनुसार कार्यप्रगति भए/नभएको र आगामी दिनमा लागत कति वृद्धि हुन्छ भन्नेसमेत अध्ययन गर्ने कार्यक्षेत्र समितिलाई दिएको छ।
त्यस्तै खोकनावासीको माग र त्यहाँ देखिएको समस्या, वातावरणमा पारेको प्रभाव र नेपाली ठेकेदारले काम गर्न सक्ने वा नसक्ने विषयमा पनि उपसमितिले अध्ययन गर्ने छ। उक्त आयोजनामा विदेशीलाई ठेकेदार ल्याउनुपर्ने हो वा होइन लगायतका विषयमा गहन अध्ययनका लागि उपसमिति गठन गर्ने निर्णय समितिले गरेको हो। सार्वजनिक लेखा समितिमा भइरहेको छानविनलाई समेत ध्यान दिने निर्णय समितिले गरेको छ।
सेनाले खोकनाको समास्या समाधानको प्रयास भइरहेको जवाफ समितिमा दिएको थियो। सेनाले अहिलेसम्म तोकिएको अवधिमै काम गर्ने गरी अघि बढेको जवाफ समितिमा दिएको छ। अवरोध नभएमा समयमा सम्पन्न हुने भन्दै सेनाले यो आर्थिक वर्षमा १६ प्रतिशत सम्पन्न हुने जानकारी दिएको छ। सेनाले हालसम्म द्रूतमार्गमा १७ अर्ब रुपैयाँ खर्च भएको जानकारी समितिलाई दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।