काठमाडौं– गायक राज सागरले विभेद विरुद्धको सांगीतिक कोशेली ‘ए मान्छे...’ सार्वजनिक गरेका छन्। ५६ औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भ पारेर गायक राज सागरले सन्देशमूलक सांगीतिक भिडियो सार्वजनिक गरेका हुन्।
लेखक आहूतिको शब्द रहेको ‘ए मान्छे...’ २१ औँ शताब्दीमा मान्छेले ब्यहोर्नु परिरहेको विभेद विरुद्धको रचनात्मक आवाज रहेको गायक राज सागरको ठम्याइ छ।
मर्यादा मिडियाको प्रस्तुति रहेको सांगीतिक भिडियो राज सागरकै संगीतमा तयार भएकाे हो। 'माया पिरतीका धेरै गीत गाइयो, ताली पनि पाइयो नाम र दाम सबै पाइयो तर समाजलाई के दिन सकियो भन्ने आफै भित्रको प्रश्नको उत्तर हो मेरो ‘ए मान्छे...’ गायक राज सागर रोमान्चित हुँदै थप्छन्, 'मान्छेहरु जातकै कारण मारिनेक्रम नरोकिँदा आफूले सांगीतिक क्षेत्रबाट सानो प्रयास किन नगर्ने भन्ने हुटहुटीले आज पूर्णता पाएको छ।'
संजीव बराइलीको संगीत संयोजनमा प्रस्तुत गीत भ्वाइस अफ नेपालमा रेकर्ड गरिएको हो।
भिडियोको निर्देशन श्याम नेपालले गरेका हुन् भने सम्पादन युसब सापकोटाले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।