काठमाडौं–प्रदेश नम्बर २ का ८ जिल्लाको विद्युत प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता भएको छ। नेपाल विद्युत प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच बुधबार प्रदेश नम्बर २ ग्रामिण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करिब ४ अर्ब रुपैयाँको ठेक्कासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हाे।
प्राधिकरणले गरेको अन्तराष्ट्रिय टेण्डरमा सबैभन्दा कम बोलकबोल गरेर भारतीय कम्पनी टाटा प्रोजेक्टले ठेक्का पाएको हो। प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन हुने आयोजनालाई ५ लटमा विभाजन गरिएको छ।
आयोजनामार्फत प्रदेश नम्बर २ मा पर्ने जिल्लाहरुको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणहरुसहितका ३३\११ केभी, १६.६ एमभीए क्षमताका ८ वटा सबस्टेसनको निर्माण गरिनेछ। यसैगरी, ३३\११ केभी, ८ एमभीए क्षमताका दुई वटा सबस्टेसनको निर्माण गरिनेछ।
उक्त सबस्टेसनको क्षमता १४८.८ एमभीए हुनेछ। यसका साथै प्रदेश नं २ का जिल्लाहरुमा ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन र एक हजार सर्किट किलोमिटर चार सय भोल्टको नयाँ लाइन निर्माण गरिनेछ।
सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट आयोजना प्रमुखहरु विमल चौधरी (लट १), रोशन खड्का (लट २ र ४), रन्धिर पाठक (लट ३) र अमित भगत (लट ५), लेखा प्रमुख विष्णुप्रसाद आचार्य, इन्जिनिय वसन्त नेपाल र विसम विनोद खनाल र टाटा प्रोजेक्टका तर्फबाट महाप्रवन्धकहरु श्याम नारायण मित्तल र मनोज कुमार पटनायकले हस्ताक्षर गरेका छन्।
यो आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले ३ करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ। यो अनुदान एसियाली विकास बैकमार्फत संचालित हुनेछ। आयोजनाको निर्माण ठेक्का सम्झौता कार्यान्वयनमा आएको ९ सय दिन अर्थात ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।