काठमाडौं- दुर्गम क्षेत्र भनेर चिनिने कर्णालीसँग अथाह पीडा छन्। खाद्यान्न अभाव, भरपर्दो स्वास्थ्य सेवा नहुनु, मोटर बाटोको सुविधा नपुग्नु जस्ता अनेक पीडासँग जुधिरहेको छ कर्णाली।
उसो त कर्णालीमा पीडा र अभाव मात्रै छैन, कयौं सम्भावनाहरु पनि छन्। त्यसैले त भन्ने गरिन्छ- कर्णाली सुनको सिरानी राखेर नुनको खोजीमा छ। तर, त्यहाँको स्रोत र सम्भावनाको सदुपयोग हुन नसक्दा अनगिन्ति अभावसँग पाैंठेजाेरी खेल्नु परेको छ कर्णालीवासीले।
कर्णाली प्रदेशको हुम्लामा अझै मोटरबाटो पुगेको छैन। डोल्पा, मुगु जस्ता जिल्लाका सदरमुकाममा बाटो पुगेपनि सबैतिर पुगिसकेको छैन। यस्तै, विवशता समेटिएको गीतको भिडियो ‘रेलको बाटो’ सार्वजनिक भएको छ।
भिडियोमा हुम्लामा मोटर बाटो नपुगेको कथा मात्र छैन, भरपर्दो र सुविधायुक्त स्वास्थ्य सेवाको अभावमा वर्षेनी गर्भवती, सुत्केरी र नवजात शिशुले ज्यान गुमाउनुपर्ने अवस्थालाई पनि चित्रण गरिएको छ।
सुरज पण्डितको स्वरमा रहेको गीतको भिडियोमा जिबी चिरन (चिरञ्जीवी सापकोटा), सरस्वती खत्री र लक्ष्मण देवकोटाको अभिनय छ। लक्ष्मण सुनारले निर्देशन गरेको भिडियोको गीतमा सुरज पण्डितकै संगीत र लेखराज गिरीको शब्द छ।
भिडियोलाई डोल्पाको शे–फोक्सुण्डो, ज्यालस, त्रिपुरा क्षेत्र पुगेर छायांकन गरिएको थियो। छायांकनका लागि शे–फोक्सुण्डो पुगेको कलाकारको टोलीका केही सदस्य ‘हाईअल्टिच्युड’को मारमा परेका थिए। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।