काठमाडौं– नेपाल र चीनले संयुक्त रुपमा गर्ने भनेको रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइनको सबस्टेसन डिजाइनको काम अब नेपाल विद्युत प्राधिकरण एक्लैले गर्ने भएको छ। कोराेना महामारीका कारण चिनीयाँ पक्ष नेपाल आउन नसकेका कारण सबस्टेशन निर्माण प्रकृयाको काम ठप्प भएपछि प्राधिकरण आफैले काम सुरु गरेको हो।
रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइन आयोजना प्रमुख कोमलनाथ आत्रेयकाअनुसार नेपाल विद्युत प्राधिकरणअन्तर्गतको इन्जिननयरिङ्ग सेवा निर्देशनालय, आयोजना विकास विभागलाई अत्याधुनिक ४ सय केभि क्षमताको सबस्टेशन डिजाइनको जिम्मा दिइएको छ।
‘चिनीयाँ पक्षसमेतको सहभागितामा सबस्टेशन डिजाइन गर्ने भनेका थियौं। तर कोभिड १९ महामारीका कारण उनीहरु नेपाल आउन पाएनन र आयोजनाको काम रोकियो। त्यसकारण अहिले आयोजना विकास विभागलाई दिइएको छ,’ आत्रेयले भने, ‘महामारीले चिनियाँ टोली आउन सम्भव भएन, तर आयोजनाको काममा निकै ढिलो भयो। त्यसकारण आफ्नो तर्फको सबस्टेसनको डिजाइन आफै गर्ने भनेर काम शुरु भएको छ।’
प्राधिकरणले विभागलाई पहिल्यै वातावरण अध्ययन तथा डिजाइनको जिम्मा दिएको थियो। तर सबस्टेसनको डिजाइन दुई देशले संयुक्त रुपमा गर्ने भन्दै त्यसलाई रोकिएको थियो। अहिले फेरी विभागलाई नै जिम्मा दिइएको छ।
नुवाकोट विदुर नगरपालिका वडा नम्बर ९ मा नेपाल विद्युत प्राधिकरणको आफ्नै जग्गामा सबस्टेसन बनाउने तयारी छ। त्रिशुली जलविद्युत केन्द्रको जग्गामा ४ सय केभि जिआईएस सबस्टेसन बन्नेछ।
यो सबस्टेशनमा त्रिशुली थ्री बी हब बाट एउटै टावरमा पर्ने गरी ४ सय केभी र २ सय केभी गरी दुईवटा लाइनबाट आएको विद्युत जोडिनेछ। ‘हामीले प्रशारणलाइनलाई मल्टिसर्किट गर्ने भनेका छौं,’ आयोजना प्रमुख आत्रेयले भने, ‘जसबाट एउटै टावरमा ४ सय र २ सय केभीका दुई फरक–फरक लाइन राख्न सकिन्छ। तर त्रिशुलीबाट रातामाटेसम्म भने ४ सय केभी प्रशारण लाइन ल्याइनेछ।’
कोभिड १९ महामारीकै कारण यो आयोजनाको साझेदारी सम्झौता नवीकरणसमेत रोकिएको छ। यो अन्तरदेशीय प्रसाइरणलाइनको साझेदारी सम्झौता गत जुनमा सकिसकेको छ।
नेपाल विद्युत प्राधिकरण र स्टेट ग्रुप कर्पोरेसन अफ चाइना (एसजिसिसी) बीच २०१८ जुन २० मा आयोजना निर्माण सम्बन्धी साझेदारी सम्झौता (पिडिए) भएको थियो। २ वर्षका लागि गरिएको उक्त सम्झौता सकिएपछि थप २ वर्षका लागि सम्झौता नवीकरण गर्ने तयारी प्राधिकरणको छ।
आयोजनाको साझेदारी सम्झौता २ वर्ष थप गर्ने मौखिक सहमति भइसकेपनि त्यसले आधिकारिकता भने पाइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।