काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलकाे उपनेताबाट हटाइएका सुवासचन्द्र नेम्वाङले सबै निर्णयलाई हार्दिकतापूर्वक लिने प्रतिक्रिया दिएका छन्।
नेकपाको प्रचण्ड-माधव पक्षको बुधबार बसेको केन्द्रीय कमिटी बैठकले नेम्वाङलाई दलकाे नेताबाट हटाउने निर्णय गरेपछि नेपाल लाइभसँगको छोटो कुराकानीमा उनले सबै निर्णयलाई हार्दिकतापूर्वक लिने गरेको बताएका हुन्।
‘उहाँहरुले (प्रचण्ड–माधव पक्षले) गर्ने सबै कुरालाई हार्दिकतापूर्वक लिने गरेको छु। हटाउन मिल्ने भएरै हटाउनु भएको होला’, नेम्वाङले भने, ‘मलाई संसदीय दलले चुनेको हो। त्यो चाहिँ सम्झना छ। अरु बारेमा मेरो कुनै टिप्पणी छैन।’
प्रचण्ड-माधव पक्षको बुधबार बसेको केन्द्रीय कमिटी बैठकले दलको नेताबाट हटाउने निर्णय गरेको थियो। त्यही बैठकले नेम्वाङसहित ७ जनालाई पार्टीविरोधि गतिविधि गरेको भन्दै केन्द्रीय सदस्यबाट ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो। बैठकले शान्ता चाैधरीलाई सचेतकबाट हटाउने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।