त्रिशूली–नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ। परीक्षणका रूपमा गत जेठमा १.२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८.७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए।
आयोजनाको पछिल्लो प्रगति बुझ्न सोमबार स्थलगत अवलोकनमा आएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य नुवाकोट पुगेका थिए।
आयोजनामा रहेका सातवटा ब्लकमध्ये दुईवटा सौर्य प्यानलमार्फत १० मेगावाट विद्युत् उत्पादन थालिएको छ। आयोजनाबाट उत्पादित विद्युत् देवीघाट जलविद्युत केन्द्रको प्रसारण प्रणालीमार्फत सिधै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
आयोजनाले २५ मेगावाट विद्युत् उत्पादनका लागि देवीघाट जलविद्युत् केन्द्रको विभिन्न सात स्थानको खाली जग्गा उपयोगमा ल्याउने क्रममा अबको केही दिनमा थप पाँच मेगावाट विद्युत् उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ।
विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत सहुलियतपूर्ण ऋण सहयोगमा थालिएको आयोजनाको निर्माण चिनियाँ कम्पनी ‘राइजन इनर्जी’ मार्फत काम भइरहेको छ। आयोजनाको विद्युत् उत्पादन लागत महँगो भए पनि विद्युत् उत्पादनको वैकल्पिक स्रोत र नमूनाका रूपमा लिइएको प्राधिकरणले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।