काठमाडौं- यही माघदेखि नै चलाउने भनिएको रेल सेवा सञ्चालन नहुँदै माघ महिना बितेको छ। बन्द भएको लामो समयपछि सरकारले सञ्चालन गर्न लागेको रेल सञ्चालका सबै तयारी पूरा हुँदासमेत चल्न नसकेको हो। भारतबाट असोजमा नेपाल आएको रेल सञ्चालनको मितिको प्रतीक्षामा छ भने सरकार सञ्चालनको उपयुक्त तिथि कुरिरहेको छ।
सन् २०१४ देखि बन्द रहेको नेपालको एक मात्र रेलमार्ग पुनः सञ्चालन गर्ने व्यवस्थासहित सरकारले भारतबाट दुई वटा रेल किनेर ल्याएको थियो। अन्तरदेशीय रेलमार्ग भएकाले मुख्यतया भन्सार, अध्यागमन, सुरक्षा व्यवस्था, सूचना केन्द्रलगायतका पूर्वाधार निर्माण भइसकेको छ।
रेल सञ्चालनका लागि आवश्यक पूर्वाधार र जनशक्ति सबै तयार भइसकेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए। ‘जनकपुर-जयनगर रेल सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्तिदेखि भाडासमेत निर्धारण भइसकेको छ,’ भट्टराईले नेपाल लाइभसँग भने, ‘अन्तरदेशीय रेल सेवा भएकाले भारतसँग सहमति लिनुपर्ने विषयसमेत टुंगिसकेको छ।’
माघभित्र रेल सेवा सञ्चालन गर्ने योजना भएपनि उद्घाटनका लागि समय तय हुन नसकेकाले सञ्चालन गर्न नसकिएको उनको भनाइ छ। ‘प्राविधिक रुपमा रेल्वे कम्पनी रेल सेवा सञ्चालनका लागि तयारी अवस्थामा बसेको छ,’ उनले भने, ‘उद्घाटन कसले र कहिले गर्ने भन्ने विषय टुंगिन बाँकी छ।’ यसका लागि कम्पनीले आफ्नो तर्फबाट भरपूर पहल गरिरहेको भट्टराईले बताए।
गत असोजमा रेल नेपाल आइपुगेको थियो। नेपालमा पार्किङको समस्या भएको भन्दै रेल भारतको जयनगरमा रहेको स्टेसनमा लगेर राखिएको छ। कोरोना भाइरसको महामारीका कारण लामोसमय भारतसँगको सीमा नाका बन्द रहेकाले पनि रेल सञ्चलनमा ढिलाइ भएको रेल्वे कम्पनीको भनाइ छ।
सरकारले १ अर्ब रुपैयाँभन्दा बढी खर्चेर असोज पहिलो साता भारतबाट रेल ल्याएको थियो। नेपालमा चल्ने रेल नेपाल रेल्वे कम्पनीले सञ्चालन गर्नेछ। २०१९ मेमा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेसनसँग २ वटा रेल किन्ने सम्झौता भएको थियो। भन्सार र मूल्य अभिवृद्धि करसमेत गरी यी रेलका लागि सरकारले १ अर्ब ३ करोड रुपैयाँ खर्चिएको थियो।
३४ किलोमिटरको जनकपुर-जयनगर रेलमार्ग ब्रोड गेजमा विस्तार भएको र यो मार्गमा २०७५ पुसमै रेल सञ्चालन गर्ने घोषणा सरकारले गरेको थियो। तर २०७७ माघ सकिँदा समेत समेत रेल सञ्चालन हुन सकेको छैन।
भारतबाट आउनु पर्ने प्राविधिक कर्मचारी आइसकेका छन्। त्यसैगरी रेल सेवा सञ्चालन गर्न आवश्यक अन्य कर्मचारी भने कम्पनीले राखिसकेको छ। पहिलो चरणमा जयनगर-कुर्था रेल्वे खण्डमा सञ्चालनका लागि गत असोज २ गते भारतबाट ल्याइएका दुई वटा डेमो रेल जयनगर स्टेसनमा पार्किङ गरी राखिएको छ भने रेल्वे सुरक्षाको जिम्मा मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बललाई दिइसकेको छ।
अहिले १२६ जना सशस्त्र प्रहरीले उक्त रेल्वे खण्डको सुरक्षा दिइरहेका छन्। रेल सञ्चालनका लागि आवश्यक पर्ने अन्य टिकट, सफ्टवेयरसमेत तयार भइसकेको छ। जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको भाडा साधारणमा ७० रुपैयाँ र एसीमा ३०० रुपैयाँ तोकिएको छ।
प्रतिकिलोमिटर बढीमा १५ रुपैयाँ साधारणमा र एसीमा साधारणभन्दा ५ गुणा बढी भाडा तोकिएको छ। एक स्टेसनबाट अर्को स्टेसनमा झरेको खण्डमा प्रतिकिलोमिटर १५ रुपैयाँका दरले भाडा लाग्नेछ। दुई वा दुईभन्दा बढी स्टेसनसम्म यात्रा गरे त्योभन्दा कम दरमा भाडा लाग्नेछ। कुर्थादेखि जयनगरसम्म जयनगर, इनर्वा, खजुरी, वैदही र कुर्था गरी ५ वटा स्टेसनमा रेल रोकिने छ।
डिजेल र विद्युत् दुवैबाट चल्ने गरि बनाइएको यो रेल प्रतिघण्टा १ सय १० किलोमिटरको गतिमा चल्ने दाबी गरिएको छ। एउटै इञ्जिन भएपनि दुवैतर्फबाट चलाउन सकिने रेलको एउटा डब्बामा ७० सिट छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।