काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताएकी छन्।
मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गर्दै मन्त्री अर्यालले किसानले पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्ने बताउँदै बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिका निम्ति मन्त्रालयले सोच बनाएको बताइन्।
उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानबाट उत्पादित वस्तुको बजारको ग्यारेन्टी सरकारले गर्ने उनको भनाइ छ। उत्पादनलाई बढवा दिने तथा उत्पादनलाई बजारमा बिक्री हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने मन्त्री अर्यालले बताइन्।
मन्त्री अर्यालले कालीमाटी बजारको फोहोर व्यवस्थापनलाई वैज्ञानिक हिसाबले व्यवस्थापन गर्ने चुनौती रहेको पनि बताइन्। त्यस्तै केही स्टलहरूको बेथितिलाई नियन्त्रण गरी प्रणालीमा ल्याउनुपर्ने उनको भनाइ छ।
कालीमाटी फलफूल तथा तरकारी बजारको साधारण सभासम्म मन्त्रालय र बजार व्यवस्थापन बसेर बेथिति अन्त्य गरी व्यवस्थित गराउनका लागि योजना लिएर आउने मन्त्री अर्यालले बताइन्।
मन्त्री अर्यालले भोलि जुनसुकै परिस्थिति आउँदा पनि समस्या नआउने गरी मलको भण्डारण स्थापना गर्ने बताइन्। किसानलाई मलको अभाव हुन नदिने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।