काठमाडौं- कोशी करिडोरअन्तर्गत प्रस्तावित २२० केभी तुम्लिङटार–शीतलपाटी प्रसारणलाइन र शीतलपाटी सबस्टेसन आयोजना निर्माणमा देखिएको विवाद टुंगिएको छ। तुम्लिङटार विमानस्थलको हवाई ट्राफिकलाई असर नपर्ने गरी दोस्रो रुटबाट प्रसारणलाइन बनाउने प्रस्तावमा नागरिक उड्डयन प्राधिकरणले सहमति जनाएपछि लामो समयदेखि रुट निर्धारणमा देखिँदै आएको विवाद सकिएको हो।
कोशी करिडोर आयोजना प्रमुख राजन ढकालका अनुसार प्रसारणलाइन बनाउन यसअघि तय भएको रुटले हवाईमार्गमा असर पर्ने भएपछि दोस्रो रुट निर्धारण गरिएको हो। ‘विमानस्थल र हवाई रुटलाई असर नपर्ने गरी प्रसारणलाइनलाई अर्कै बाटोबाट लैजाने सहमति नागरिक उड्डयन प्राधिकरणसँग भएको छ,’ ढकालले भने, ‘रुट परिवर्तन गर्दा अब प्रसारणलाइनको लम्बाई ४ देखि ५ किलोमिटर बढ्ने भएको छ भने १२ देखि १५ वटा टावर थप्नुपर्ने भएको छ।’
प्रसारणलाइन निर्माणका लागि निर्धारण भएको पहिलो रुट तुलनात्मक रुपमा दोस्रो रुटभन्दा छोटो पर्न जाने नेपाल विद्युत प्राधिकरणको अध्ययनले देखाएको छ। तर, हवाई ट्राफिकमा सोझै अवरोध पुग्ने देखिएपछि दोस्रो विकल्प अघि सारिएको हो। दोस्रो रुटबाट प्रसारणलाइन लैजाँदा बजार र बस्ती भएकाले जग्गा अधिग्रहण र मुआब्जाको समस्या बढी देखिने अनुमान गरिएको छ।
त्यतिमात्र नभई दोस्रो रुटमा १२ देखि १५ वटासम्म टावरहरु बढी राख्दा थप लागत बढ्नेछ। प्रसारणलाइनका लागि निर्धारण भएको रुटले हवाई रुटमा अवरोध पुग्ने देखिएपछि आयोजनाको काम अध्ययनको प्रारम्भिक चरणमै अल्झिएको थियो। अहिलेकै अवस्थामा यो आयोजना अघि बढाउन नागरिक उड्डयन प्राधिकरणले विमति जनाउँदै आएको थियो।
जसकारण प्राविधिक अध्ययन टोलीले प्रसारणलाइन बनाउन सम्भावित दुवै रुटको प्रारम्भिक अध्ययन गरिसकेको भएपनि विस्तृत वातावरणीय प्रभाव मूल्यांकन (इआईए) को काम भने बाँकी छ। प्रसारणलाइनको रुट र हवाई रुट एकै ठाउँमा पर्न जाँदा निर्माणको काम प्रभावित भएपछि पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले यसबारेमा अध्ययन गर्न एक टोलीसमेत गठन गरेका थिए।
पाइलटहरु, एयर ट्राफिक कन्ट्रोलका कर्मचारी र विभागका इन्जिनियरहरु सम्मिलित उक्त अध्ययन टोलीले पनि प्रसारणलाइनले हवाई रुटमा असर पर्ने निष्कर्षसहित प्रतिवेदन बुझाए पनि आयोजनाको रुट निर्धारणमा सहमति जुट्न सकेको थिएन।
शीतलपाटी सबस्टेसनका लागि विद्युत प्राधिकरणले जग्गा किनिसकेको छ। तर, प्रसारणलाइन निर्माणका लागि गर्नुपर्ने प्रारम्भिक अध्ययनका कामसमेत नटुंगिदा टेण्डरको काम पनि रोकिएको छ। प्रसारणलाइनको प्रारम्भिक वातावरणीय अध्ययन नटुंगिदा एकातिर शीतलपाटी सबस्टेसनको ठेकापट्टाको काम रोकिएको छ भने अर्कोतिर निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनाहरुले समयमा प्रसारणलाइन नबन्दा उत्पादित विद्युत खेर जाने हो कि भन्ने चिन्ता समेत गर्न थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।