काठमाडौं- नागढुंगा-नौबिसे सुरुङमार्ग काठमाडौंतर्फबाट समेत खन्न सुरु गरिएको छ। योसँगै सुरुङमार्ग निर्माणको काम पूर्ण रुपमा हुन थालेको छ। पश्चिमी मोहडाको धादिङतर्फ अघिल्लो महिनाबाट काम थालिएको थियो। बिहीबारदेखि पूर्वी मोहडामा समेत सुरुङ खन्न सुरु गरिएको आयोजनाले जनाएको छ।
केही दिनअघि स्थानीयले विभिन्न माग राखेर काम अवरुद्ध गर्ने चेतावनी दिएका थिए। तर, अहिले स्थानीयले उठाएका सबैजसो समस्या समाधान भएको आयोजनाको भनाइ छ। पुस ७ गतेबाट आयोजनाको धादिङतर्फ पश्चिम मोहडाबाट सुरुङमार्ग खन्न सुरु गरिएको थियो भने पूर्वि मोहडामा माघ ८ देखि खन्न सुरु गरिएको हो।
आयोजनाले सुरुमा इभाकुएसन सुरुङ खन्न थालेको हो। यो सुरुङ आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुनेगरी बनाइने सुरुङ हो। मुख्य सुरुङबाट ३० मिटरको दूरी (चौडाई) मा हुनेगरि स्केप सुरुङ खनिन्छ। यसरी समानान्तर हुनेगरी खनिने सुरुङ प्रत्येक ३ सय ७५ मिटरमा मुख्य सुरुङसँग जोड्ने गरि निर्माण हुने छ।
सहायक सुरुङ (स्केप टनेल) मुख्य सुरुङमा दुर्घटना वा अन्य समस्या आए एम्बुलेन्स लगायतका आपतकालीन सवारीको आउजाउका लागि प्रयोग हुनेछ। सुरुङ खन्ने काम हाल राति र दिउँसो गरि दुई सिफ्ट काम भइरहेको छ।
सुरुङ मार्ग निर्माणमा हाल करिब ३०० जना कामदारले काम गरिरहेका छन्। १४ महिनामा सुरुङ खन्ने काम सकिने र त्यसपछि फिनिसिङको काम गर्ने योजना रहेको आयोजनाको भनाइ छ। करिब २.७ किलोमिटरको सुरुङमार्ग जापानी कम्पनी हाज्मा–आन्दो कर्पोरेसनले निर्माणको ठेक्का पाएको हो।
सुरुङमार्ग काठमाडौंतर्फ चन्द्रागिरि नगरपालिका-१ को टुटीपाखामा र धादिङतर्फ धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहनेछ। सुरुङ मार्गमा मुख्य दुई वटा लेन र बीचमा एउटा सानो साइड लेन बनाइने छ। उक्त सानो लेन सवारी साधन बिग्रिए साइड लगाउनका लागि प्रयोग हुनेछ।
आयोजनामा जापान सरकारको करिब १६ अर्ब सहुलियत ऋण र नेपाल सरकारले को ६ अर्ब गरी २२ अर्ब रुपैयाँमा निर्माण हुनेछ। सम्झौता भएको ४४ महिनामा आयोजना सम्पन्न गर्ने सम्झौता भएको छ।
२०७६ मंसिरमा शिलान्यास भएको आयोजनाको काम यही पुसदेखि थालिएको हो। एक वर्षको अवधिमा तयारीको काम भएको आयोजनाले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।